भारतबाट रासायनिक मल आउने सुनिश्चित

52

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराउनुभएको छ । भारत भ्रमणमा रहनुभएका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल. मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराउनुभएको हो ।

भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो ।

देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल गरेको थियो तर सम्झौताअनुसार मल आइरहेको थिएन । मल आउन ढिलो भएका कारण समस्या बढ्दै गएपछि कृषिमन्त्री यादव मलको विषयमा कुरा गर्नका लागि आफैँ भारत जानुभयो । सोही क्रममा उहाँले रसायन एवं उर्वरकमन्त्री मण्डावियासँग छलफल गरेपछि मल आउन सुनिश्चित भएको हो । कृषिमन्त्री यादवले अबको एक/डेढ हप्ताभित्र भारतबाट मल आउन सुरु हुने बताउनुभयो।

गोरखापत्रकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आज भारतका रसायनमन्त्रीसँग भएको छलफलअनुसार उहाँले सबै प्रक्रिया पूरा गरेर मल नेपाल पठाउन सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।” आफूले सुरुकै चरणमा एक लाख ५० हजार मेट्रिक टन मल पठाउन भनेको तर भारतले एकै पटक त्यति मल पठाउन सकिँदैन, बिस्तारै सबै मल पठाइदिने प्रतिबद्धता जनाउनुभएको मन्त्री यादवले बताउनुभयो ।

भारतको भण्डारमा पर्याप्त मल छैन । टेन्डर गरिएको मल आइपुगेको छैन । भण्डारमा जे जति छ, तत्काल त्यसैबाट नेपाल पठाउने त्यहाँका मन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ । भारतले मल पठाउन सुरु गरेपछि धानका लागि मलको अभाव नहुने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।

सम्भवतः यो महिनाभित्र ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्ने आफूहरूले विश्वास लिएको भ्रमणमा रहनुभएका कृषिमन्त्री यादवको स्वकीय सचिव डा. दिनश यादवले बताउनुभयो । भारतले मल पठाउन सकारात्मक भएको छ, यो महिनाभित्र नै नेपाल मल जान सुरु हुने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तोकिएको समयभन्दा दुई/चार दिन ढिलो चाँडो हुन सक्छ तर मल चाँडै नै नेपाल पुग्छ भनी भारतका मन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ ।” भारतले कोलकाताको सुक्खा बन्दरगाहसम्म मल पु-याइदिने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

साथै, भारतका रसायन एवं उर्वरकमन्त्री मण्डावियाले नेपालमा खपत हुने सम्पूर्ण मल भारतले नै दिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । नेपालमा लगभग पाँच लाख मेट्रिक टन मल खपत हुन्छ । भारतले आफूले उत्पादन गर्नुका साथै बाहिरबाट पनि आयात गर्ने गरेको छ । यदि नेपालले भारतसँग सबै मल खरिद गर्न तयार भयो भने त्यसका लागि पनि भारतले नै टेन्डर गरेर मलको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

साथै नेपालमा नानो युरिया झोल मलको कारखाना नेपालमा खोल्नका लागि भारत तयार रहेको पनि उहाँले बताउनुभयो । रसायन एवं उर्वरकमन्त्री मण्डावियाले नेपालले यसको लागि प्रक्रिया सुरु गरोस्, कारखाना खोल्नका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसका लागि भारत भ्रमणमा रहनुभएका कृषिमन्त्री यादवलाई नानो युरिया झोल मलको कारखाना अवलोकन गर्न पनि आग्रह गर्नुभएको छ । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here