काठमाडाैं । अहिले देशैभर स्थानीय तह-२०७९ मा काठमाडाैं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारबाट बालेन्द्र शाह मेयर बनेपछि चर्चाकाे विषय बनेकाे छ ।
यहाँ अहिले चर्चा गर्न लागिएको प्रसङ्ग भने बालेन्द्र साहको होइन । उसो भए किन बालेन्द्रको बारे चर्चा हुँदैछ त फेरी ? तपाईँको मनमा यस्तो जिज्ञासा जाग्नु स्वाभाविक हो प्रसङ्ग वा विषयवस्तु फरक भएपनि बालेन्द्रले काठमाडौं महानगर प्रमुखको रुपमा सुरु गरेको एक अभियानसँग विषयवस्तु जोडिएको छ । बालेन्द्र मेयर भएर आउने वित्तिकै उनले एउटा अभियान सुरु गरे । काठमाडौं महानगर भित्रका होटल, रेस्टुरेन्टहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न उनले आह्वान गरेका छन् ।
बालेन्द्रको यस आह्वानलाई समर्थन गर्दै विभिन्न होटल, रेस्टुरेन्टहरुको साथमा विभिन्न प्राइभेट कम्पनीहरुले समेत आफ्ना शौचालयलाई सार्वजनिक घोषणा गर्दै बोर्ड राख्न थालेका छन्, सामाजिक संजालमा पोस्ट गरेकाे छ । साथै नेपालको नामी व्यापारिक घराना ज्योति ग्रुपका सौरभ ज्योतिले पनि आफ्ना सम्पूर्ण होन्डा शोरुममा सबैका लागि निःशुल्क शौचालय उपलब्ध गराउने घोषणा गरेकाे छ ।
जिम्मेवार नेपाली म भन्दै सौरभले आफ्नो फेसबुक वालमा लेखे, ‘परिवर्तन सुरु हुन्छ हामीबाट । त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होन्डा शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’
सौरभको यस घोषणालाई लिएर उनको चौतर्फी प्रशंसा पनि हुँदैछ । यसै पोस्टमा उनको घोषणाको समर्थन र प्रशंसा गर्दै धेरैले कमेन्ट गरेका छन् ।
उनको यहि घोषणालाई लिएर सामाजिक अभियन्ता भागवद प्रधानले सौभरलाई एउटा आग्रह गरेका छन् । अभियन्ता प्रधानले पनि आफ्नो फेसबुक वालमा स्टाटस हाल्दै ठमेलमा अहिले छायाँ सेन्टर बनेको स्थानमा पुनः कमलपोखरी निर्माण गर्न सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानले छायाँ सेन्टरमा सौरभ ज्योतिको ठुलै लगानी रहेको भन्दै सो स्थानमा कमलपोखरी पुनर्निर्माण गर्न सहयोग गर्न आग्रह गरेका हुन् । ‘ठमेलको अतिक्रमित कमलपोखरीमा सौरभ ज्योतिको ठुलो लगानी…. पहिले ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्त्वको कमलपोखरीलाई पोखरी नै कायम गर्न सहयोग गरी आफुबाटै परिवर्तनको सुरुवात गरौं’ प्रधानले लेखेका छन् ।
ठमेलमा हाल छायाँ सेन्टर बनेको स्थानमा विगतमा कमलपोखरी रहेको प्रधानको दावी छ । सो कमलपोखरीको ठमेलको विक्रमशील महाविहार (भगवानबहाल) सँग सम्वन्ध रहेको छ । विक्रमशील महाविहारका गरुड भगवानको नित्य पूजाका लागि सोही कमलपोखरीबाट चोखो पानी लिनुपर्ने र पोखरीकै कमलको फुल चाहिने जनाइन्छ । अभियन्ता प्रधानले सो स्थानमा पुनः कमलपोखरी नै कायम हुनुपर्ने आवाज उठाउँदै आएका छन् भने यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।


















