काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमण हुन लागेको हो ।
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन । तस्बिर : अमेरिकी रक्षा मन्त्रालयसन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्र प्रमुख रहेका उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन् ।
जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले जनरल फ्लिनलाई साथ दिनेछन् । जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् ।
त्यहाँ बिहानको खाना खाएर शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने र सम्भवतः विद्यार्थीलाई सम्बोधन गर्ने सैनिक मुख्यालयले जनाएको छ । त्यसपछि बेलुकी उनी फर्कनेछन् । यसबीचमा जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ । त्यस विषयमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको प्रवक्ता सिलवालले जानकारी दिए ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा उच्च तहमा भ्रमण आदानप्रदान हुने दुवै मुलुकका कूटनीतिक अधिकारीहरूले बताइरहेका छन् । प्रधानसेनापति शर्मा असारमा अमेरिका जाँदै छन् । प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने भनिए पनि मिति टुंगो लाग्न बाँकी छ ।
यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएकी थिइन् । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए ।
भूराजनीतिक जानकार तथा सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यात अमेरिकी जनरल फ्लिनको भ्रमणलाई तीन तरिकाबाट हेर्नुपर्ने मान्छन् । ‘पहिलो, अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिको दस्ताबेज ल्याए पनि त्यसको रक्षा रणनीति ल्याएको छैन । त्यसबारे फ्लिनले भारत, नेपाललगायत एसिया–प्रशान्त क्षेत्रमा घुमेर बुझिरहेका छन्,’ उनले भने, ‘दोस्रो, कोभिडका कारण प्यासिफिक आर्मी कमान्डरहरूको कन्फरेन्स भएको छैन । यो भ्रमणले त्यसलाई अघि बढाउन जोड दिन सक्छ । तेस्रो, कूटनीतिक सम्बन्धको ७५ वर्षगाँठको उपलक्ष्यमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउँदै लाने हो ।’
















