नेपालका प्रधानसेनापति शर्मा लेबनानमा

119

काठमाडौं । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनको बारेमा जानकारी लिन प्रधानसेनापति प्रभुराम शर्मा शनिबार लेबनानतर्फ प्रस्थान गर्नुभएको छ ।

रक्षा सचिवसहित ७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै प्रधानसेनापति शर्मा लेबनान प्रस्थान गर्नुभएको सैनिक मुख्यालयले जनाएको छ ।उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको थियो ।प्रधानसेनापति महारथी शर्मालगायतको भ्रमण दलले असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानस्थित युनिफिल मिसन र त्यसपछि सिरियास्थित अनडोफ मिसनका भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी प्रधानसेनापति शर्माले उक्त मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा, प्रधानसेनापति महारथी शर्माले लेबनान तथा सिरियाका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ । उहाँलाई शनिबार लेबनानमा अनररी कन्सुलेट जनरल अफ नेपाल तथा लेबनानका सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । तत्पश्चात्, लेबनानी सेनाको एक टुकडीद्वारा उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

लेबनान प्रस्थान गर्नुपूर्व प्रधानसेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाइ कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।उक्त निरीक्षण भ्रमणपछि प्रधान सेनापति शर्माले संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि मिति २०७९ असार १७ गतेसम्म ५ सदस्यीय भ्रमणदलका साथ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नु हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति महारथी शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मालगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here