अस्पतालमा २२ वर्षीयायुवती जीवनमरणको दोसांधमा

78
Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

 

धनुषा  । जनकपुरस्थित प्रादेशिक अस्पतालमा २२ वर्षीया एक युवती जीवनमरणको दोसांधमा छिन् । बेडमा छटपटाइरहेकी उनको न कोही आफन्त छ, न त स्याहारसुसार गर्ने कुरुवा । उनलाई जेठ १६ मा धनुषा प्रहरीले अस्पताल भर्ना गरेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा उनलाई जनकपुरको थापा चोकस्थित एक घरबाट उद्धार गरिएको थियो ।

१० दिनपछि उनको होस खुलेको हो । उपचारमा संग्लन चिकित्सक डा.आश्विनी यादवकाअनुसार युवतीको दुबै हात, खुट्टा र पेटमा करेन्ट लागेको गहिरो खत छ । ‘करेन्ट लागेको अंगको केही भाग जलिसकेको छ,’ यादवले भने, ‘होस आएपछि मसिनो स्वरमा बोल्न थालेकी छन् । घटनाको प्रकृति हेर्दा उनी दोस्रो जीवन पाएकी हुन् ।’

सिन्धुलीको गोलञ्जर गाउपालिका–२ की राधिका कार्कीलाई धनुषा क्षिरेवरनाथ नगरपालिका महेन्द्रनगरका २८ वर्षीय अरुण साहले करेन्ट लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रेम विवाह गरी जनकपुरको थापा चोकस्थित डेरामा दुबैजना ८ महिनादेखि बस्दै आएका थिए । सामान्य विवाद हुँदा अरुणले बिजुलीको तारले पहिला खुट्टामा करेन्ट लगाए । युवती बेहोस भएपछि हात र पेटमा पनि करेन्ट लगाएको खुलेको छ । ‘सामान्य विवाद भएको थियो । एकाएक विजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस् भएपछि कहाँ के गर्‍यो, होस पाइन । कसरी हस्पिटल पुगे त्यो पनि थाहा पाइँन,’ राधिकाले भनिन् ।

एक वर्षअघि खोटाङमा राधिका र अरुणको चिनजान भएको थियो । प्रेम विवाह गरेर जनकपुरको थापा चोकमा उनीहरू बस्दै आएका थिए । राधिकाका अनुसार अरुणले केहीदिन जनकपुरको डेरामा बस्ने त्यसपछि आफ्नो घरपरिवारमा लग्ने वचन दिएका थिए । ‘मैले अब ८ महिना भयो, घर कहिले लग्ने भन्दा विवाद भयो,’ राधिकाले भनिन्, ‘अनि करेन्ट लगाएर बेहोस बनाए ।’ उनले अरुणलाई कडा कारबाहीको माग गरिन् ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले युवतीसित बुझेर अनुसन्धान अघि बढाइने बताए । चिकित्सक र सुरक्षागार्डले राधिकाको हेरचाह गर्दै आएका छन् । उनको शरीरको ६ ठाउँमा करेन्टले गहिरो घाउ बनाएको छ । केही भागलाई काटेर हटाउनुपर्ने र अझै १/२ वटा अप्रेसन गर्न बाँकी रहेको अस्पताल प्रशासन प्रमुख केडी दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here