काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन्।
अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्याएको दाबी समेत गरे।
मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरूद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरूमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरूबीच राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको अध्यक्ष ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरूमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरूसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए।
उनले भने, ‘यो सरकार बनेपछि सामान्यतया भन्ने हो भने संवाद छैन। २०४६ सालपछि यस्तो संवादहीनता कुनै पनि विषयमा प्रतिपक्ष त संविधानत प्रतिपक्ष हो नि। योसँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरूद्ध जाने खालका कुराहरू यस्तो डेमोक्रेसीमा हुँदैन। यो संवादहीनताको स्थिति अरू धेरै कुराहरू म भन्न चाहन्नँ। त्यसकारण तपाईंहरूले जे कुरा उठाउनु भएको छ। त्यसमा खाली शब्दमा मात्रै होइन सहमति। यसको ‘रूटकज’ कहाँनिर हो? सहमति किन बनिराखेको छैन? किन संवाद भइराखेको छैन?’
अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए।
लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेसन गर्नुहुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उनले बताए।
‘जस्तो प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै। त्यो त अनिवार्य नै कुरा हो। प्रतिपक्ष भनेको एउटा वैकल्पिक सरकार हो। सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ। त्योसँग त परामर्श गर्नुपर्छ नै। साथसाथै विज्ञहरूसँग परामर्श गर्ने हाम्रो चलन थियो’, उनले भने, ‘हामी जहिले पनि प्रधानमन्त्री बाहिर जान्छ भने युएनमा जानुभन्दा अगाडि, अरू त्यस्तो फोरमहरूमा जानुभन्दा अगाडि अथवा कुनै देशको भ्रमण गर्नु भन्दा अगाडि किन जाँदैछ? त्यहाँ गएर के गर्छ? भन्ने कुरामा छलफल गरिन्थ्यो र कसरी जाऊँ, के/के गरौं भनेर परामर्श गरिन्थ्यो। यसो भएको छैन यो एउटा अलि गम्भीर कुरा हो। तर यो मेरो डिमान्ड होइन। नगरी चलाउनु हुन्छ भने चलाउनुस्न्। लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतिको नयाँ डेफिनेसन गर्नुहुन्छ भने ठिक छ।’