पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्छ

76

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ। सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो।

गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको शनिबार उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो।” यो पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रूपमा १२ वर्षअघि निर्माण सुरु भएको हो।

पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पुर्याउने उल्लेख गर्दै उहाँले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले सङ्घीय सरकारले चालेका कदममा प्रदेश सरकार सहयोगीको भूमिका खेल्न तयार रहेको बताउनुभयो। उहाँले प्रदेशबाट हुने हरेक कामका लागि आफूहरू लागिपर्ने बताउनुभयो।

विसं २०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाइ तथा १८५ मिटर लम्बाइ छ। कूल १३ करोड ८३ लाख १५ हजार ३७८ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९०७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इञ्जीनियर अशोक पौडेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here