सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता गरिदिएका छन् ।
गत शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्याइदिएका थिए ।
बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ । तर रियालिटी शोमा मुकुट प्रयोग भएपछि सम्पदा अभियन्ता विरोधमा उत्रिएका थिए । विवाद चर्किएपछि काठमाडौं महानगरपालिकामा यसबारे बैठक बसेको थियो । सोही बैठकको निर्णयपछि मुकुट बौद्ध गुरुलाई फिर्ता दिइएको हो ।


















