मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक गए रातिदेखि अवरुद्ध

202

पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ।

शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो।

पर्वतको कुश्मा नगरपालिका-१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।

अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन्।

कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन्। निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here