अमेरिका र चीन नेपालमै टक्कर सुरु

63
काठमाडौं / केही महिनायता नेपालमा अमेरिकी तथा चिनियाँ अधिकारीको भ्रमण नियमितजसो भइरहेको छ । विदेशी अधिकारीको भ्रमण हुनुलाई मात्रै नकारात्मक मान्न नमिले पनि विश्वका दुई प्रतिस्पर्धी र आपसमा शत्रु राष्ट्रको चासो नेपालमा बढ्नु भने निकै अर्थपूर्ण रहेको छ ।
नेपालजस्तो चीन र भारतको बीचमा रहेको सानो भुपरिवेष्ठित राष्ट्रले लिने विदेश नीतिले पनि ठूलो अर्थ राख्ने भएकाले यी भ्रमणहरु चासोका साथ हेरिएको हो । नेपालमा अमेरिकाको मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) पारित भएपछि चीनले दिएको प्रतिक्रियाले पनि अबका हाम्रा कदमहरु सोचबिचार गरेर अघि बढाउनुपर्ने सन्देश दिएको छ ।
अहिले चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा अनौठो सक्रियता देखियो । विभाग प्र्रमुखको जिम्मेवारी सम्हालेपछि लिउ पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका हुन् । नेपालमा आएर पनि उनले प्रधानमन्त्रीदेखि उच्च नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । नेकपा एमाले, माओवादी केन्द्रका अध्यक्षहरुसँगैको भेटमा घण्टौं खर्र्चिका लिउले नेपालमा पश्चिमा गतिविधि र चीनको सुरक्षा सवालबारे प्रश्न गरेका थिए ।
उनले त्यसअघि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नोसँगको भेटमा राष्ट्रिय एकता गरेर नेपालले अमेरिकाी कार्यक्रम स्टेट पार्टनसीप कार्यक्रम (एसपीपी) अस्वीकार गरेकोमा धन्यवाद दिएका थिए । नेपालमा अमेरिकी कार्यक्रमका नाममा विभिन्न गतिविधि बढेको भन्दै चीनले चासो व्यक्त गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकार आउनेवित्तिकै एमसीसी पारित गर्नु, एसपीपीको विवाद निस्कनु, अमेरिकी अधिकारीको भ्रमण बाक्लिनुले पनि चिनियाँ आशंका बढाएको छ । देउवा नेतृत्वको सरकार अमेरिकी धुरीमा ढल्किँदै जाँदा चीनले पनि आफ्नो सुरक्षा संवेदनशीलताबारे प्रश्न उठाएको छ । विगतमा जस्तै सरकार फेरिने बित्तिकै विदेश नीति पनि फेरिने गर्नाले अहिलेको जटिल अवस्था आएको हो । विशेषगरी एक चीन नीतिमा नेपालको समर्थन चीनले खोज्दै आएको छ ।
चीनको शान्त विदेश कुटनीति मानिन्छ । अझ आफूलाई असर नपरेसम्म चीनले अन्य मुलुकमा हस्तक्षेपको नीति लिएको उदाहरण छैन । तर, पहिलोपटक नेपालको भूमि प्रयोग गरी एक चीन नीतिमै असर पर्ने र तिब्बती विषयमा चलखेलको आशंका पाएपछि चीनले नेपाललाई सचेत गराएको छ । केही महिनाअघि चिनियाँ कम्युनिष्ट पार्टीले यदि चिनको सुरक्षा सवालमा कतै जोखिम देखिए सेना नै परिचालन गर्नेसम्मको निर्णय लिएको थियो ।
लीउको नेपाल भ्रमणको मुख्य उद्देश्यमा नेपाल अमेरिकातिर नढल्कियोस् भन्ने नै प्रमुख हो भन्ने स्पष्ट छ । यस्तै चीन विरोधि गतिविधि हुनु भएन र बामपन्थीहरु मिल्नेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । उनले प्रष्ट रुपमा नेपालसामु नेपाली भूमिलाई आफ्नो संवेदनशील क्षेत्रको रुपमा पहिलेदेखि राख्दै आएको जनाउँदै यहाँ चीनविरुद्ध गतिविधि हुन नदिन सचेत गराएका छन् । नेपालले एक चीन नीति अपनाए पनि तिब्बती शरणार्थीलाई अप्रत्यक्ष सहयोग र अन्य चीन विरोधि गतिविधि भइरहेको नेता लीउले भेटमा संकेत गरेका थिए । यो नेपालका लागि ठूलो सन्देश हो ।
नेपालले हालसम्म असंलग्न परराष्ट्र नीति लिए पनि त्यसलाई पूर्णत: व्यवहारमा कायम गर्न सकेको छैन । फलस्वरुप सरकार परिवर्तन हुने वित्तिकै सरकारले लिने विदेश नीति पनि फेरिँदै आएको छ । नेपालले अब आफ्नो असंलग्न परराष्ट्र नीति कुनै पनि सन्यै गठबन्धनमा सामेल नहुने नीतिलाई राष्ट्रिय सहमतिमै कार्यान्वयन गर्न जोड दिनुपर्ने यी भ्रमणले प्रष्ट पारेको छ । विदेश नीतिमा एकरुपता कायम गर्न नसक्दा भने अमेरिका र चीन जस्ता शक्ति राष्टहरुको चलखेल नेपालमा बढ्ने सम्भावना देखिएको छ । जसको असर सबैभन्दा बढी नेपालले नै भोग्नुपर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here