बागमती सिंचाइ आयोजनामा स्वचालित सेडिमेन्ट मापन गर्ने

61
सेडिमेन्ट नाप्ने सेन्सर जडान गर्दै प्राविधिक

काठमाडौं । राष्ट्रिय प्राथमिकतामा रहेको बागमती सिंचाइ आयोजनामा स्वचालित सेडिमेन्ट मापन गर्ने प्रविधि जडान गरिएको छ ।

विभिन्न इन्जिनियरिङ क्षेत्रको अध्ययन, अनुसन्धान तथा सरकारी निकायहरुको क्षमता अभिवृद्धि तालिम संचालन गर्ने उद्देश्यले स्थापित जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले यस प्रविधि जडान गरेको हो ।

वर्षायाममा बागमती नदीले अत्यधिक सेडिमेन्ट बगाएर ल्याएसँगै बागमती सिंचाइको नहरमा प्रवेश गरी त्यहीं थिग्रिने हुँदा नहरको बहाव क्षमता बर्सेनि ह्रास भइरहेको छ ।

सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माण सम्पन्न भएपछि यस आयोजनामा ६७ हजार लिटर प्रतिसेकेन्ड पानी थप भई यो आयोजना नेपालकै सबैभन्दा ठूलो सिंचाइ आयोजना हुन जाने विश्वास छ ।

करिब १ लाख २२ हजार हेक्टरमा सिंचाइ गर्ने उद्देश्य रहेको उक्त आयोजनामा नहरको बहाव क्षमता घट्न नदिन भविष्यमा कस्तो किसिमको सेडिमेन्ट प्रशोधन गर्ने संरचना निर्माण गर्ने वा कसरी गेट सन्चालन गर्ने भन्ने कुराको अनुसन्धानको लागि यस प्रविधि जडान गरिएको केन्द्रको कार्यकारी निर्देशक सरिता दवाडीले जानकारी दिइन् ।

स्वचालित प्रविधि जडान गर्ने जिम्मा पाएको परामर्शदाताको तर्फबाट अध्ययनमा संलग्न इन्जिनियर अनुप खनालका अनुसार यस प्रविधिले नहरमा आउने सेडिमेन्टको स्वचालित रुपमा मापन गरी हरेक आधा-आधा घन्टामा डाटा केन्द्रीय सर्भरमा सम्प्रेषण गर्दछ । यसरी केन्द्रमा सम्प्रेषित डाटा अनलाइन मार्फत मोबाइलबाट समेत हेर्न सकिने छ । सेडिमेन्ट सेन्सरलाई जुन खोला वा नहरमा राख्ने हो पहिले त्यंहा लगेर क्यालिब्रेसन गरिन्छ ।

यसरी क्यालिब्रेसन गर्न सेन्सरले सेडिमेन्टको डाटा लिइरहेको समयमै स्याम्पलिङ बोतलमा पनि पानी उठाइन्छ र उक्त पानीलाई प्रयोगशालामा जाँच गरी यसको वास्तविक सेडिमेन्टको मात्रा मापन गरिन्छ । यसरी मापन गरिएको वास्तविक सेडिमेन्टको डाटा सेन्सरमा सेटिङ गरिन्छ अनि सेन्सरले स्वचालित रुपमै सेडिमेन्टको वास्तविक डाटा मापन गरी अनलाइन सिस्टममा सम्प्रेषण गर्दछ ।

‘अध्ययनको बिभिन्न चरणमा रहेका हाइड्रोपावर, सिँचाइ तथा खानेपानी आयोजनाहरुको सेडिमेन्ट मापन गरी प्रशोधन गर्ने उपयुक्त संरचनाको डिजाइन गर्न तथा संचालनमा रहेका आयोजनाहरुको संचालन मोडालिटी निर्धारण गर्न यस प्रविधि लाभदायक हुन्छ,’ खनालले भने ।

नवीन प्रविधिहरुको प्रयोग गरी विभिन्न क्षेत्रमा वैज्ञानिक अनुसन्धान गरिरहेको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले राजमार्गमा पहिरोबाट हुनसक्ने जोखिमको न्यूनीकरण गर्ने उद्देश्यले पहिरो पूर्वसूचना प्रविधिसमेत जडान गर्ने कार्य अगाडि बढाइरहेको केन्द्रका सीडीईजी डा. अनन्तमान सिंह प्रधानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here