आइसिसी विश्वकप लिग २ स्कटल्यान्ड नेपालसँग ५ विकेटले पराजित

67

काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग २ सिरिज क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको छ । जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लेको छ । सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । अंक तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले ३० अंक जोडेको छ । नेपालले १८ खेलबाट १७ अंक हात पारेको छ ।

बुधबार ग्लोसो मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४२.५ ओभरमा एक सय ४४ रनको मध्यम योगफलमा अलआउट भएको थियो । प्रत्युत्तरमा नेपालले २५.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४६ रन बनायो । नेपालले एक सय ४९ बलअघि नै जित निकालेको हो ।

नेपालका लागि रोहितकुमार पौडेलले अन्तिमसम्म नटआउट खेल्दै ३४ रनको योगदान दिए । उनले ३१ बलमा पाँच चौका प्रहार गरेका थिए । लक्ष्य पछ्याएको इनिङ्समा नेपालले उत्कृष्ट सुरुवात पायो । ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ७.२ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । फर्ममा देखिएका ओपनर कुशल २७ रनमा आउट भए । विकेटपछाडि क्रसबाट क्याच आउट हुनुअघि कुशलले २८ बलमा चार चौका प्रहार गरेका थिए ।

सेख र देव खनालबीच दोस्रो विकेटका लागि ३० रनको साझेदारी भयो । दुवैले नेपाललाई ४७–१ बाट ७७–२ को स्थितिमा राखे । देवले चार रन बटुल्न १६ बलको सामना गरे । नेपाललाई लक्ष्यसम्म पुर्‍याउन ओपनर सेखले उत्कृष्ट ब्याटिङ गरे । उनले मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपाललाई १२५–३ को बलियो स्थितिमा राखे ।

सेखले आफ्नो चौथो एकदिवसीय अर्धशतकका रूपमा ७१ रन बटुले । उनले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे । उनी मैनको ओभरमा आउट भए । यसअघि ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले नेपालका तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको उत्कृष्ट बलिङ सामना गर्न सकेन ।

सोमपाल र आदिलले कसिलो बलिङ गर्नुका साथै निरन्तर रूपमा विकेट लिँदा स्कटल्यान्ड इनिङ्सको एक समय ९५–९ को निकै कमजोर अवस्थामा पुगेको थियो । नेपालले स्कटल्यान्डलाई सय रनको योगफलभित्र नै समेट्ने सम्भावना बढेको थियो । तर, गाभिन मैन र हाज्मा ताहिरबीच दसौँ विकेटका लागि ४९ रनको साझेदारी भएपछि स्कटल्यान्डले ४२.५ ओभरमा एक सय ४५ रन जोड्यो ।

गाभिन र हाम्जाले १३ ओभरसम्म साझेदारी गर्दै नेपाली बलरलाई दबाबमा राखेका थिए । दीपेन्द्रसिंह ऐरीले हाज्माको विकेट लिँदै दसौँ विकेटको साझेदारी तोडे । गाभिनले अन्तिमसम्म नटआउट रहँदै ५९ बलमा ६४ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा सात चौका र एक छक्का प्रहार गरेका थिए । हाज्माले गाभिनलाई गतिलो साथ दिएका थिए । उनले बढीजसो स्ट्राइक गाभिनलाई दिए । हाज्माले ४३ बल सामना गरी केवल सात रन मात्र बनाए ।

स्कटल्यान्डको ब्याटिङ इनिङ्समा मार्क वाटले ४६ बलमा १७ रन तथा साफयान सारिफले २६ बलमा १६ रनको योगदान दिए । तेस्रो क्रमका ब्याट्सम्यान कालुम म्यालेडले ११ बलमा १३ रन जोडे । बलिङतर्फ नेपालका लागि सोमपाल र आदिलले समान तीन विकेट लिए । सोमपालले १० ओभरमा ४० रन तथा आदिलले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चेका थिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडन राखी ३५ रन खर्चिंदै दुई विकेट लिए । नेपालका ओपनर बलर करण केसीले ९ ओभरमा ३१ रन खर्चेर एक विकेट लिए । दीपेन्द्रसिंहले १.५ ओभरमा दुई रन दिँदै एक विकेट लिए । दोस्रो एकदिवसीय खेल खेलेका बसिर अहमदले दुई ओभरमा चार रन खर्चेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here