काठमाडाैं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन्। भू–राजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु परेको उनले दाबी गरेका हुन्।
नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भू–राजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिमा कतै न कतै भू–राजनीतिक प्रभाव देखिँदै आएको पनि बताए।
अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाडिएर आउने गरेको पनि उल्लेख गरे।
‘हाम्रो मुलुक ल्याण्ड लक मुलुक हो। अल्पविकसित मुलुक हो। र, राजनीतिक रुपमा अहिले पनि अस्थिर नै छ,’ ओलीतर्फ इंगित गर्दै यादव भने, ‘यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँ सँगसँगै म उहाँकै क्याविनेटको उपप्रधानमन्त्री थिए। म पूर्व भएँ। केही दिनपछि उहाँ पनि पूर्व हुनु भएछ। यो पनि भूराजनीतिकै प्रभाव हो। कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ। राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन्। तर, बाह्य कारणहरु पनि जोडिएका छन्।’
अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाइ थियो।
मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भू–राजनीतिकले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढनुपर्ने अध्यक्ष यादवले बताए।
















