काठमाण्डौ / टाटासुमो गाडीहरुको अब्यवस्थित पार्किङले अस्त ब्यस्त भैरहने बल्खुको चौक वरिपरिको क्षेत्रमा स्थानीयहरुको चर्को गुनासो पछि ट्राफिक प्रहरीले केही सक्रियता देखाउन सुरु गरेको छ ।
चक्रपथ छेउमै निर्माण भैसकेको सुमो पार्किङ क्षेत्रमा सुमो गाडीहरु पार्किङ नगरेर चक्रपथका वरिपरि सुमो काउण्टर भएकै ठाउँहरुमा र भित्री सडकहरुमा समेत पार्किङ गरेर सुमो ब्यवशायीहरुले ज्यादति नै गरेका छन् । प्रदूषण बढाउने र स्थानीयहरुलाई बाधा पुराउने गरी भित्री सडकहरुमा पार्किङ गर्ने, रुट आदेश नै नभएको बाक्लो वस्ती भएको साँघुरा सडकमा चर्को हर्न बजाउँदै तीब्र गतिका साथ गाडी गुडाउने, यात्रु चढाउने र ओराल्ने काम भैरहेकाले स्थानीयहरुबाट ट्राफिक महाशाखामै उजुरी परेको थियो ।
स्थानीयको उजुरीको दवाव परेपछि समस्या समाधानमा ट्राफिक महाशाखाबाट डिआईजी मीरा चौधरीकै पहलमा सुमो गाडीहरुको पार्किङ ब्यवस्थापन गर्ने प्रयास स्वरुप कार्वाही प्रारम्भ भएको छ । भित्री सडक डिन कार्यालय नजिकको सार्वजनिक ठाँउमा पार्किङ गरेको स्थानमा स्थानीय ट्राफिकले कार्वाही गर्दै गरेको तस्विर ट्राफिकले उपलब्ध गराएको छ । सडकहरुमा पार्किङ भैरहेका गाडीहरुमा ञलकझ लगाउने , सडकमा पार्किङ हटाउने काममा ट्राफिक सक्रियता बढेको छ ।
तथापी चक्रपथ वरिपरि र परिक्षा नियन्त्रण कार्यालय वरिपरि सडक नै अवरोध गरेर सुमोगाडीहरु अझै पार्किङ भैरहेका छन् । ट्राफिकले यसतर्फ भने ध्यान पुराउन सकेको छैन ।
सुमोगाडीहरुको पार्किङलाई ब्यवस्थित गर्न स्थानीयकै पहलमा त्रिभूवन विश्व बिद्यालयबाट नेपाल प्राद्यापक सँघले प्राप्त गरेको जग्गा प्रद्यापक सँघसित भाडामा लिएर बनाईएको ब्यवस्थित पार्किङ क्षेत्रलाई अवरोध गरेर सडकमै गाडीहरुको रमिता गराउने काम भएको छ ।
आवास,चमेना, पार्किङ सबै सुबिधा उपलब्ध भएको चक्रपथ छेउमै निर्मित यो पार्किङ क्षेत्रलाई अवरोध गरेर रमिता देखाउनु भन्दा काठमाण्डौ महानगर वा अन्य कुनै सरकारी निकायले यो संरचनालाई स्वामित्वमा लिएर टाटा सुमो गाडीहरुलाई ब्यवस्थित गर्न सकिने सुझाव बल्खुका ट्राफिक ईञ्चार्ज अनुप राउतले दिएका छन् । अन्यथा ट्राफिक प्रहरीले जतिसुकै चीट काटेपनि समस्या समाधान हुनसक्ने अवस्था नरहेको उन्को दाबी छ ।

















