ललितपुर महानगर ‘सुशासन वर्ष’ बनाउँदै

124

ललितपुर  ।  ललितपुर महानगरपालिकाले यो वर्षलाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । हालै सम्पन्न नगर सभाबाट नीति तथा कार्यक्रम तथा वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको हो ।

‘सुशासन वर्ष’ अन्तर्गत खर्च कटौती गर्ने, बेरुजु उल्लेख्य मात्रामा घटाउने, पारदर्शिता प्रवर्द्धन गर्ने, वडालाई विकासको केन्द्रको रुपमा विकसित गर्ने र कार्यसम्पादन सम्झौता गर्नेजस्ता योजना समावेश गरिएको छ । यस्तै, विपद् व्यवस्थापनमा लगानी वृद्धि गर्ने योजना पनि महानगरले अघि सारेको छ ।

जसअन्तर्गत वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद् सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङ रोड बाहिरका वडाहरूमा फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना तर्जुमा गरिएको छ ।

यस्तै, सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण, राजस्व संकलन प्रकृयालाई अनलाइन सिस्टममा आवद्ध गर्ने, ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम आयोजना गर्ने, कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गर्ने, खानेपानी व्यवस्थामा विशेष जोड दिने योजना पनि अघि सारिएको छ ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ २ अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here