आज बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाे प्रतिवेदन पेश हुने

67

काठमाडाैं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ।

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिनिधि सभाले संसदीय विशेष छानबिन समिति गठन गरेको थियो। समिति गठन गरिएसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाउन लागेको छ। आज दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने समय तय भएको संसदीय समितिका सदस्य–सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

संसदीय समितिको प्रतिवेदन आजै प्रतिनिधि सभामा प्रस्तुत गर्ने सभामुख सापकोटाको तयारी छ। यसका लागि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि शुरू भएको थियो। सभामुख सापकोटाले भर्खरै बैठक स्थगन गरी अर्को बैठक अपराह्न ३ बजे बस्ने जानकारी गराएका छन्।

आजै बस्नै प्रतिनिधि सभाको दोस्रो बैठकमा पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन प्रस्तुत गरिने भएको छ। प्रतिनिधि सभाले असार २८ गते संसदीय विशेष छानबिन समिति गठन गरेको थियो। १० दिन समयावधि दिइएको समितिलाई सात दिन म्याद थपिएको थियो। समितिले छानबिन सकेर प्रतिवेदन तयार गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here