काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरिसकेको छ।
कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईंसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो। सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन्। यस्तै, डंगोल ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक पनि हुन्।
एन्फाको २६ साउनको बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा भएका बेला बैठकले हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो।
यसअघि अब्दुल्लाहसँग किरण श्रेष्ठले सहायक प्रशिक्षक तथा विकास मल्लले गोलकिपर प्रशिक्षकको जिम्मेवारी निभाएका थिए।
एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा छन्। त्यसयता उनले २६ खेलाडीलाई बंगलादेशविरुद्ध प्रशिक्षणका लागि बोलाउन एन्फा सचिवालयलाई अनुरोध गरेका थिए।
तर, एन्फाले विवादमा तानिएका प्रशिक्षक अब्दुल्लाहको विकल्प खोजेको छ।