उपत्यकामा दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा

395

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार विगतका दसैँमा जस्तै यस वर्ष पनि खसी, बोका र च्यांग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना बनाइएको छ । ‘यो वर्षको दसैँमा दुई हजार खसी, बोका र एक हजार च्यांग्रा ल्याउने गरी ६ करोड ४० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ’ खनालले भने, ‘सञ्चालक समितिले यसलाई निर्णय गर्न बाँकी छ ।’

दसैँमा मासुको माग उच्च हुने र व्यवसायीले कृत्रिम मूल्यवृद्धि गर्ने भएकाले नियन्त्रणका लागि सरकारले बर्सेनि खसी, बोका र च्यांग्रा ल्याएर बिक्री गर्ने गरेको छ । गत वर्ष मकवानपुर, दाङलगायतका जिल्लाबाट दुई हजार खसी, बोका ल्याएर कम्पनीले बिक्री गरेको थियो । बजारमूल्यभन्दा प्रतिकिलो १० रुपैयाँसम्म सस्तो मूल्य निर्धारण गरी कम्पनीले खसी, बोका र च्यांग्रा बिक्री गर्ने गरेको छ । जसकारण बजारमूल्यभन्दा प्रतिगोटा तीन–चार सय रुपैयाँसम्म सस्तो पर्न जान्छ ।

‘हामीले मूल्य नियन्त्रणका लागि खसी, बोका र च्यांग्रा ल्याउने गरेका छौँ । हामीले थोरै संख्यामा ल्याएर बिक्री गर्दा दसैँमा खसी, बोकाको मूल्य नियन्त्रण हुँदै आएकाले यसलाई पनि निरन्तरता दिन लागेका हौँ,’ खनालले भने । कम्पनीले स्थानीय खसी, बोका मात्रै खरिद गरी ल्याउने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गरेको छ । खाद्य कम्पनीले गत वर्ष भने च्यांग्रा ल्याउन सकेको थिएन । बजार माग कम हुने, तर मूल्य उच्च भएका कारण गत वर्ष ल्याउन नसकेको कम्पनीले जनाएको छ ।

व्यवसायीहरूका अनुसार काठमाडौं उपत्यकामा मात्रै बर्सेनि दसैँमा ५० हजारवटा खसी, बोका र च्यांग्राको माग हुने गरेको छ । यसमध्ये आधाभन्दा बढी माग भारतीय खसी, बोकाबाट पूर्ति हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here