त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी

48

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा घरेलु टोली स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले ४९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि आरोन जोन्स र कप्तान मोनांक पटेलले अर्धशतकीय पारी खेले । ८७ बलको सामना गरेका जोन्सले दुई छक्का र एक चौकासहित ६२ रन बनाए । त्यस्तै, मोनांकले ५७ बलमा दुई चौका र एक छक्काको सहयोगमा ५० रन जोडे ।

त्यस्तै, जसकरण मल्होत्राले अविजित ३६, गजानन्द सिंहले ३३, सुशान्त मोदानीले २८, स्टिभन टेलरले १६ र इयान हाल्याण्डले १२ रनको योगदान दिए ।स्कटल्याण्डका लागि हम्जा ताहिर, माइकल लीस्क, गेभिन मेनले दुई/दुई र सफियान सरिफले एक विकेट लिए ।

त्यसअघि एबार्डेनस्थित मनोफिल्ड पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो । उसका लागि अनुभवी ब्याटर कलुम म्याक्लोयडले शतकीय पारी खेले ।

१४४ बलको सामना गरेका उनले १३ चौका र दुई छक्कासहित अविजित १३३ रन बनाए । त्यस्तै, माइकल लीस्कले ४१, सफियान शरिफले २५ र क्रिस ग्रेभ्सले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अमेरिकाका लागि इयान हाल्याण्डले तीन, स्टिभन टेलर र सौरभ नेत्रावल्करले दुई/दुई विकेट लिए ।

स्कटल्याण्डलाई हराएसँगै अमेरिका विश्वकप लिग–२ को अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले २८ म्याच खेल्दा १३ मा जित र १३ खेलमा हार बेहोरेको छ । अमेरिकाले दुई खेलमा अंक बाँडेको छ । अमेरिकाको जितले यूएई चौथो स्थानमा धकेलिएको छ । उसले २६ म्याच खेल्दा १२ मा जित र ११ खेलमा हारको सामना गरेको छ । यूएईले तीन खेलमा अंक बाँडेको छ ।

अमेरिकासँग हारे पनि स्कटल्याण्ड दोस्रो स्थानमा कायमै छ । उसले २८ म्याच खेल्दा १९ मा जित, सातमा हार र दुई खेलमा अंक बाँडेको छ । १०२ म्याच सकिँदासम्म ओमान शीर्ष स्थानमा छ । पूरा ३६ म्याच खेलेको उसले २१ मा जित र १३ खेलमा हार बेहोर्यो । त्यस्तै, पाँचौँमा नामिबिया, छैटौँमा नेपाल र सातौँमा पपुवा न्यूगिनी छन् ।

नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ । नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here