काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधारले जानकारी दिए।
उनले यी तीन कमिटीले छानेका एक महिलासहितका चार जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरुसहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउने जनाए।
उनले केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको जानकारी गराए ।
उनले भने, ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्डअनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भूमिका हुन्छ। तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एक जना महिलासहित चार जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एक जना महिलासहित ४ जनाको उहाँहरुले नाम पहिला पठाउनुहुन्छ। त्यसपछि मात्रै जिल्लाले ती चार जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ। तीन जना छनोट भएर प्रदेश कमिटीमा पठाइसकेपछि प्रदेश कमिटीले तीन जनाकै कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरुसहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउँछ र केन्द्रीय कमिटीले त्यही सूचीबाट समानुपातिकको निम्ति पनि निर्धारण पनि गर्छ र आगामी निर्वाचनको निम्ति पनि उम्मेदवार तय गर्छ। यो काम सम्पन्न भएको छ।’
यस्ता छन् उम्मेदवार छनौटमा एकीकृत समाजवादीको मापदण्डः
१. पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२. पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४. आर्थिक र नैतिक आचरण राम्रो भएको,
५. जनतामा स्थापित र लोकप्रीय रहेको,
६. स्वच्छ छवि र सुशासनको पक्षपाती,
७. कार्यक्षमता र सक्रियता राम्रो भएको।


















