बैबाहिक अंगिकृत नागरिकताबारे गगन थापाले यस्ताे धारणा राखे ?

69

काठमाडाैं ।  सांसद गगन थापाले अहिले नागरिकता विधेयक रोक्ने हो भने नेपाली बावु तथा आमाबाट जन्मेको सन्तान र आमाका नामबाट नागरिकता पाउनबाट वञ्चित हुने भएकाले रोक्न नहुने दाबी गरे।

प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयबाट आएको  नागरिकता विधेयकमा आफ्नो विचार राख्दै अहिले बहस गलततिर गइरहेको टिप्पणी गरे। उनले वैवाहिक अंगीकृतको हकमा विधेयकले कुनै पनि व्यवस्था नगरेको तर बहस भने त्यसतर्फ मात्र भएको भन्दै उनले यो बहस पनि गलत भइरहेको बताए। राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचार गरियोस् भनेर पठाएको बुँदाहरु राम्रो भएको तर त्यसमा धेरै छलफल र संविधान नै संशोधन गर्नुपर्ने देखिएको उनको भनाइ छ।

उनले राष्ट्रपतिले सबै कुरा समेट्नुपर्ने कुरा उठाएको भन्दै आमाको आत्मसम्मानको कुरा उठाउनु सकारात्मक भएको बताए। उनले राष्ट्रपतिले उठाएका केही कुराका लागि संविधान नै संशोधन गर्नुपर्ने देखिएको उल्लेख गरे।

‘जेठ २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा वैवाहिक अंगीकृतको हकमा एउटा व्यवस्था राख्नसक्ने थिए तर किन राख्नु भएन भने त्यहाँ साझा धारणा बनेको थिएन,’ उनले भने, ‘अहिले पनि विधेयक पारित भइरहँदा त्यो व्यवस्था राख्न सकिन्थ्यो तर किन राखिएन भने साझा धारणा बन्न सकेन।’

उनले राष्ट्रपति विद्यादेवि भण्डारीले उठाएको महिलाको हकमा नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने कुरामा सचेत रहनैपर्ने बताए। तर अहिलेको विधेयकले यी कुरामा छलफल गर्न सक्ने भए पनि संशोधन हुन नसकेकाले फेरि पनि त्यसलाई छलफल गरेर परिमार्जन गर्न सकिने उनले बताए।

‘राष्ट्रपतिले उठाएका केही  कुराका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘वैवाहिक अंगीकृतका लागि साझा धारणा बनाउनुपर्ने भनि राष्ट्रपतिले राख्नु भएको कुरा सही थियो। तर त्यसमा दलहरुकाबीचमा अहिले साझा धारणा बनाउने सम्भावना छैन।’

थापाले अहिले बाहिर यो विधेयक पारित हुँदा वैवाहिक अंगीकृतको हकमा  खुला व्यवस्था राख्ने र पारित नगर्दा सात वर्ष रहने भन्ने कुरा भइरहेकाले त्यो गलत भएको बताए।

‘आज यो विधेयक पारित गरेनौं भने वैवाहिक अंगीकृतको हकमा ७, ८,९ वर्ष लाग्छ भनि भएको हल्लामा सत्यता छैन,’ उनले भने, ‘नागरिकता ऐनको व्यवस्था २०४९ देखि विभिन्न ऐनहरु संविधानबाट सर्दै आएको  हो। बितेको ४० वर्षदेखि यसरी नै चल्दै आएको  छ।’

अहिले यो विधेयक रोक्दा नेपालीले नै नागरिकता नपाउने उनले बताए। वैवाहिक अंगीकृतले नागरिकता पाउन अहिले नरोकिने उनको भनाइ छ। संविधानमा जे छ त्यही अनुसार वैवाहिक अंगीकृतले नागरिकता पाउने उनले बताए।

‘२०३४–२०४४–२०४९–२०६३ सालदेखि नै अंगीकृतको हकमा व्यवस्था गरिएको छ। यो कसले बनाएको हो त भन्दा मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला  लगायतले बनाएको हो,’ उनले भने, ‘राजा विरेन्द्रले बनाएको ऐनको आधारमा यसमा व्यवस्था आएको हो।’

अहिले नागरिकता विधेयक रोक्दा नेपालीबाट जन्मेका र आमाबाट पाउनुपर्नेले नागरिकता नपाउने उनको भनाइ छ। वैवाहिक अंगीकृतले पाउने व्यवस्था संविधान मै भएकाले रोक्न नसकिने उनले बताए।

राष्ट्रपतिले उठाएका कुराहरु संसद्‌मा सम्पत्तिको रुपमा रहनुपर्ने उनको भनाइ छ। ‘कम्तिमा सदनबाट भन्दै गर्दा यति भन्नुपर्छ– वैवाहिक अंगीकृतको हकमा ४० वर्षदेखि व्यवस्था छ र त्यसलाई छोएको छैन,’ उनले भने, ‘केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन।’  तर अहिले यही विषयमात्र धेरै उठेको भन्दै उनले यसमा विवाद गर्न आवश्यक नै नभएको बताए। उनले सबैभन्दा चर्चा गर्नुपर्ने विषय लैङ्गिक विषय भए पनि त्यसमा नभएर बहस अंगीकृततिर मोडिएको दाबी गरे।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here