काठमाडौं / निर्वाचनअघि कम्युनिष्ट पार्टीहरुबीच एकता, नभए चुनावी मोर्चा बनाएर अगाडि बढ्न आह्वान गर्दै नेता वामदेव गौतमले थालेको एकता राष्ट्रिय अभियानको प्रभावस्वरुप संसदवादी वामपन्थी दलहरुबीच ध्रुवीकरणको चहलपहल सुरु भएको छ । हाल सत्तासीन रहेका दुई पार्टी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी एक भएर आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।
वामदेव गौतमबाट सुरु भएको एकता अभियानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र समाजवादीका डा. भट्टराईलाई समेत प्रभावित बनाएको छ । सोही कारण भट्टराई र गौतमको नेतृत्वको पार्टीले आगामी चुनावमा माओवादी केन्द्रको चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति बनिसकेको छ भने माओवादी र एकीकृत समाजवादी एक कदम अघि बढ्दै एउटै घोषणापत्रमा निर्वाचन लड्ने र निर्वाचनपछि एकता गर्ने गरी एकता संयोजन समिति बनाउने सहमतिसमेत गरेका छन् । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले एकता अभियानलाई थप गति दिन नेकपा एकीकृत समाजबादीसँग तत्काल पार्टी एकता गर्ने निर्णय गरेको छ । गत मंगलबार गौतमको अध्यक्षतामा बसेको नेकपा एकता राष्ट्रिय अभियानको सचिवालय बैठकले एकताका लागि ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ भने सचिवालयको निर्णयलाई केन्द्रीय कमिटीको बैठकमा छलफल गराउन यही भदौ १८ गते केन्द्रीय कमिटीको बैठक बोलाईएको छ ।
नेता गौतमलेले अभियानको घोषणासँगै वामपन्थी दलहरुका मुख्य नेतासँग एकताका लागि भेटवार्ता तीव्र पार्नुभएको थियो । तर, एमालेले भने यस्तो एकता वा मोर्चामा बेवास्ता जनाउँदै आएको थियो । मुलुकलाई नेतृत्व दिन कम्युनिष्ट दलहरुबीच एकता वा सहकार्यको विकल्प नभएको निष्कर्षसहित अहिले माओवादी र एकीकृत समावादी पनि एकताका लागि अग्रसर भएका छन् ।गत सोमबार प्रचण्ड र नेपालसहितका शीर्ष नेताहरुले आसन्न निर्वाचनमा एमालेभन्दा ठूलो शक्ति बन्ने महत्वाकांक्षासहित वाम–समाजवादी मोर्चाको रणनीति तयार पारेका छन् । बैठकमा केही दिनमा नै पार्टी एकताका लागि संयोजन समिति घोषणा गर्ने, आगामी निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने, दुई पार्टीबीच विचार, राजनीति र कार्यदिशा मिलाउने, निर्वाचनमा मिलेर उम्मेदवारी तय गर्ने विषयमा छलफल भएको थियो ।
एकता संयोजन समितिमा दुवै पार्टीबाट ५/५ नेता रहने गरी छलफल अघि बढेको छ । अहिले सिट बाँडफाँटमा कांग्रेसलाई दबाबमा राख्ने र एमालेलाई कमजोर पार्ने रणनीतिअन्तर्गत नै पछिल्ला घटनाक्रम विकसित भएको बुझ्न सकिन्छ । वामपन्थी दलहरुबीचको यो एकताले अर्को वामपन्थी दल नेकपा एमालेलाई संकटमा पार्ने देखिए पनि नेपाली कांग्रेसलाई भने सत्तामा पुग्न सहज हुने अवस्था आंकलन गर्न सकिन्छ । यो बाम एकताले कांग्रेसमाथि दबाब बढाउने अपेक्षा गरिए पनि कम्युनिष्ट दलहरुबीच अझै पूर्णरुपमा ध्रुवीकरण नहुँदा अन्ततः कांग्रेसलाई फाइदा नै हुने विश्लेषकहरुको भनाइ छ ।
हाल सत्तासीन दलहरुबीच गठबन्धन गरेर आगामी निर्वाचनमा जाने सहमति भएको छ तर कुन दलले कति सिट पाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन । सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले ९० सिटको दाबी गरे पनि ८५ सिट पाउने मनस्थिति बनाएको छ । माओवादीको दाबी ५५, नेकपा एसको २५, जसपाको २५ र जनमोर्चाको एउटा छ । तर, माओवादीले ५०, एसले १५, जसपाले १ र जनमोर्चाले १ सिट पाउने आशा गरेका छन् । यद्यपि, निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के हुने भन्नेमै सहमति जुटाउन सकेको छैन ।
यसबीचमा माओवादी र एकीकृत समाजवादी पार्टीबीचको सहमतिले कांग्रेस र एमालेलाई दबाब पक्कै दिनेछ । एमाले अहिले कुनै पनि दलसँग सहकार्य गरेर अघि बढ्ने मनस्थितिमा छैन । कम्युनिष्ट दलहरुबीच चुनावी मोर्चाका लागि उसले कुनै चासो नदिएपछि अहिले माओवादीलगायतका दल एकै ठाउँमा उभिन सम्भव भएको हो । यो गठबन्धनले हालसम्म प्रमुख प्रतिपक्षी रहे पनि एमाले आगामी निर्वाचनपछि भने अझै पछि धकिलिने निश्चितप्रायः छ । अर्कोतर्फ कांग्रेसले भने कम्युनिष्ट पार्टीहरुबीच पूर्णरुपमा ध्रुवीकरण नहुँदा र मत छरिँदा लाभ पाउने देखिन्छ । यसै पनि डबल नेकपाबीच विभाजन आउँदा अहिले सत्ताको नेतृत्व गर्न पाएको कांग्रेसले आगामी निर्वाचनमा यही विभाजनको निरन्तरताबाट सिट बढाउन सक्ने आंकलन विश्लेषकहरुको छ ।
तर, माओवादी र एकीकृत समाजवादीले भने आफ्नो सहकार्यले सत्ता साझेदार कांग्रेसमाथि दबाब राख्ने अपेक्षा गरेका छन् । ‘वाम–समाजवादी मोर्चा हुँदै पार्टी एकतामा जाने दीर्घकालीन रणनीति हो, तत्कालका लागि आसन्न निर्वाचनमा एमालेभन्दा ठूलो शक्ति बन्ने हो । मोर्चा बनाउँदा कांग्रेससँग सहकार्य र टिकट बाँडफाँटमा पनि सन्तुलन हुन सक्छ,’ एकीकृत समाजवादीका एक नेताले जनधारणालाई जनाए । माओवादी र एकीकृत समाजवादीले गठबन्धनमा ८० सिटको अडान राख्ने तयारी गरेको ती नेताको भनाइ छ । नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजबादीबीच एकीकरण हुनासाथ यो एकीकृत शक्तिको आकार ठूलो हुने, यसप्रति आकर्षण बढ्ने र एमालेमाथि पनि दवाव बढ्ने बिश्लेषण गर्न सकिन्छ ! जनधारणा साप्ताहिकबाट

















