‘लोकतान्त्रिक योद्धा सम्मान’

48

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ ।

प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजना गरेको ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई ताम्रपत्र, दोसल्ला र जनही २४ हजार नगदबाट सम्मानित गर्नुभयो ।

शारीरिक समस्याका कारण चित्रकार आउन नसक्नु भएपछि प्रधानमन्त्रीले उहाँकी श्रीमती प्राध्यापक गंगा चित्रकारलाई सो सम्मान हस्तान्तरण गर्नुभयो ।

आफू साइन्सको विद्यार्थी भएकाले राजनीतिमा धेरै चासो राख्ने गरेको थिइनँ तर कमल चित्रकारकै कारण म राजनीतितिर आकर्षित भएँ, सम्बोधनका क्रममा प्रधानमन्त्रीले भन्नुभयो ।

कठोर पञ्चायती शासन व्यवस्थामा कमल चित्रकारले वनभोज कार्यक्रमको आयोजना गरेर हामी विद्यार्थीलाई लैजाँदा पनि प्रहरी हस्तक्षेप भएको स्मरण गर्दै उहाँले राजनीतिमा लागेकै कारण चित्रकार जेल बस्नु परेको स्मरण गर्नुभयो । चित्रकारले विभिन्न समयमा गरी छ वर्ष जेल जीवन बिताउनु भएको छ ।

यसैगरी, पञ्चायती व्यवस्थामा नेपाली  कांग्रेसका विचारलाई जनतासम्म पुराउने साप्ताहिक पत्रिका ‘राष्ट्रपुकार’ रहेको चर्चा गर्दै प्रधानमन्त्रीले त्यसमा निडर भएर लेख्ने काम पत्रकार होमनाथ दाहालले गरेको बताउनु भयो । दाहाल पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।

कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह के.सीले लोकतन्त्रको संरक्षण, सम्बर्धन र संस्थागत विकासका लागि समाज क्रियाशील रहेको चर्चा गर्दै लोकतन्त्रमा सबैको सम्मान हुने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो ।

उहाँले युवा पुस्तालाई टिकट दिएर आगामी निर्वाचनमा उत्साहजनक वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकारद्वय होमनाथ दाहाल र पुरुषोत्तम दाहाल, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, उपाध्यक्ष प्रा.डा. इश्वरीराज लौडारी, महासचिव गोकर्ण अर्याल, डा. वासुदेव भण्डारी, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगतप्रसाद तिम्सिना, डा. सुरेश मल्ललगायतले लोकतन्त्रको विकासका विषयमा चर्चा गर्नुभयो ।

प्राध्यापक बीसी मल्लको अध्यक्षतामा स्थापना भएको समाजले हाल ७२ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here