पर्वत । कुश्मा नगरपालिका–९ का शिव ढकाल ६ वर्ष साउदीमा रोजगारी गरेर फर्किएपछि पशुपालनमा लागे । ५ वर्षअघि चारवटा गाईबाट सुरु गरेको व्यवसाय अहिले डेढ दर्जनभन्दा बढी माउगाईमा विस्तार भएको छ । ढकालले दैनिक दुई सय लिटर दूध बजार पठाउँछन् ।
फलेबासकी उपप्रमुख शोभा क्षत्रीले आफ्नै फार्मबाट दैनिक अढाई सय लिटर दूध पोखरा पठाउँछिन् । पैयुँ–५ का हिमलाल भुसालले ३ वर्षअघि सुरु गरेको नमुना पशुपालन फार्ममा हाल एक दर्जन उन्नत जातका भैंसी छन् । कुश्मा–९ की यमुना पौडेलले २०७२ मा व्यावसायिक गाई फार्म दर्ता गरिन् । ३ वटा गाईबाट सुरु भएको उनको नमुना गाईपालन फार्ममा अहिले डेढ दर्जन गाई छन् । बीएससी उत्तीर्ण मोदी गाउँपालिका–२ देउपुरका बेदप्रसाद तिमिल्सिनाले २५ वटा गाई पालेका छन् । उनले दैनिक १ सय २५ लिटर दूध बजार पुर्याउँछन् । जलजला–८ नाङ्लीवाङका २५ किसानले सुरु गरेको मिलिजुली भैंसीपालन किसान समूहमा दुई सय बढी भैंसी छन् । सामूहिक व्यवसाय सफल नभएपछि किसानहरूले समूहमार्फत आ–आफ्नै घरमा ३ देखि ७ वटासम्म उन्नत जातको भैंसी पाल्न थालेका हुन् । यहाँको दैनिक ५ देखि ७ सय लिटर दूध नजिकको बागलुङ र म्याग्दीको बेनीमा बिक्री हुन्छ ।
ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ । जसका कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध पर्वत बाहिरका जिल्लामा निर्यात हुँदैआएको छ । ‘बागलुङको केही हामीकहाँ पनि आउने गरेको छ,’ केन्द्रप्रमुख रामजीप्रसाद पौडेलले भने, ‘हामीकहाँ आउने र जाने हिसाब गर्दा दैनिक १५–१७ सय लिटर दूध जिल्लाबाट बाहिरिन्छ ।’ उनका अनुसार पश्चिम बागलुङको केही दूध पर्वतको कुश्मामा बिक्री हुँदैआएको छ ।
हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा ७०–८० रुपैयाँ तथा खुद्रा ९० देखि १ सय २० रुपैयाँमा बिक्री हुँदैआएको छ । दुधालु गाईभैंसीले एकै बेतमा करिब एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ । कुश्मा–९ का ढकालले गाईको दूधबाटै मासिक डेढ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीमै जाने तयारी गरेका ढकाल कोरोनाका कारण भएको लकडाउनले जान नपाएपछि व्यवसाय बढाएको सुनाउँछन् । ‘व्यवसाय त ५ वर्षअघि नै दर्ता गरेको हुँ,’ उनले भने, ‘परिवारलाई जिम्मा लगाएर युरोपतिर जाने सोचेको थिएँ । कोरोनाले रोक्यो । त्यसपछि गाई थपें । अब कतै नजाने विचार गरेको छु ।’ करिब ४० रोपनीमा उन्नत घाँस लगाएका उनले १८ वटा माउगाई पालेका छन् ।
पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ । केही दिनअघि कुश्मामा आयोजित कार्यक्रममा फलेवासका पशुपालक किसान रमेश शर्माले गुनासो गर्दै भने, ‘अहिले बजारमा दानाको मूल्य अत्यधिक बढेको छ । गाउँमा दानाको कच्चा पदार्थ उत्पादन गर्न बाँदरले दिँदैन । हामी व्यावसायिक किसानका लागि उत्पादनमा आधारित अनुदानमूलक कार्यक्रम ल्याउनुपर्यो ।’ जिल्लामै दाना उद्योग स्थापना भए व्यावसायिक पशुपालनमा सहज हुने किसानका भनाइ छ । जिल्लाका केही स्थानीय तहले पशुपालक किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम ल्याएका छन् । kANTIPUR BATA


















