काठमाडौं-१ बाटै पुनः उम्मेदवारी दिन लागेका मिश्रसँग यसपल्ट चुनाव चिह्न छैन

77

काठमाडौं । विवेकशील साझा पार्टीको नेतृत्व छाडेका रवीन्द्र मिश्र राप्रपासँग एकता गर्ने तयारीमा छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं-१ बाटै पुनः उम्मेदवारी दिन लागेका मिश्रसँग यसपल्ट चुनाव चिह्न छैन । मनोनयन अगावै राप्रपासँग ‘एकता’ या प्रवेश भएको खण्डमा उनी हलो चिह्नबाट चुनाव लड्ने जानकारी प्राप्त भएकाे छ ।

तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मिश्रलाई तत्कालै पार्टी नेतृत्वमा ल्याउन इच्छुक देखिए पनि दुई वरिष्ठ नेताहरु विक्रम पाण्डे र बुद्धिमान तामाङबीचको व्यक्तित्व टकराबबीच यो चाहनाले प्रतिफल पाउन सकेको छैन ।

नेताहरूको वरीयता र वरिष्ठता व्यवस्थापनको मुद्दा एकता-छलफलको अग्रभागमा आएको बुझिएको छ । केही दिनअघि छलफल क्रममा मिश्रले राप्रपासँगको आफ्नो बढ्दो निकटताबारे खुलाएका थिए । वैकल्पिक राजनीतिको विमर्श चलाइरहेका मिश्र हिजोआज संवैधानिक राजसंस्था, हिन्दु-बौद्ध राज्यलगायत माग राखेर मार्ग परिवर्तनको बाटोमा लागेका छन् ।

‘एकताको छलफल हुँदैछ, तत्कालै भएन भने पनि चुनावमा मलाई राप्रपाले सहयोग गर्न सकारात्मक जवाफ दिएको छ’ मिश्रले भने, ‘एमालेले पनि सहयोग गर्ने अपेक्षा राखेको छु ।’

एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पहिलोपल्ट बालकोट निवास पुगेका मिश्रले आइतबार विभिन्न विषयमा सकारात्मक छलफल भएको उल्लेख गरेका थिए । स्रोतका अनुसार काठमाडौं १ मा मिश्रलाई एमालेले सघाउने सम्भावना छ ।

मिश्रका अनुसार, ‘एमालेले हामीलाई सघाउने परिस्थितिले एमालेलाई पनि हामीले सहयोग गर्ने परिस्थिति स्वतः बन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here