बर्दिया । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।
नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको उक्त पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले जानकारी दिए।
पाँच वर्षअघिको चुनावमा रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले उनलाई कैद सजाय सुनाएको छ।
चौधरी अहिले डिल्लीबजारस्थित कारागारमा छन्।
जेलमै हुँदा चौधरीले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए। उनको दलले गत स्थानीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ का सबै स्थानीय तहमा जित हात पारेको छ।

















