चितवन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने जनाएका छन्।
कांग्रेस चितवन जिल्ला समितिले १ सय ९ औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गरे। ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन,’ देउवाले भने, ‘गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो’
पार्टीको फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे। देउवाले केपी शर्मा ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्यो भनेपछि गठबन्धन बनेको उनले बताए।
‘एमसिसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे, खोइ त अमेरिकी सेना आएको रु’ देउवाले भने, ‘सरकार र गठबन्धनविरूद्ध षड्यन्त्र भइरहेको छ, पार्टी एक ढिक्का हुनुपर्छ।’
गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन निर्वनचनमा जाँदा कांग्रेसका केही साथीहरुलाई मर्का पर्ने भएपनि स्वीकार गर्नुपर्ने बताए।


















