लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने

70

लहान । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लागूऔषधमुक्त समाज बनाउन नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभएको छ। भौतिक विकास सबै थोक होइन, समाजका युवा विद्यालय जाने उमेरका विद्यार्थीसमेत लागूऔषध सेवनमा लागेर बर्बाद हुन थाले भनेर लहानका सहरी क्षेत्रका वडाबाट यस समस्यालाई समाधान गर्न गुहार्न थालेपछि समस्या समाधान गर्न गृहकार्यमा लागेको नगरप्रमुख चौधरीले बताउनुभयो।

“प्रहरी प्रशासनको एकल प्रयासले यो समस्या समाधान हुनेवाला छैन। यसका लागि जनप्रतिनिधि, गैरसरकारी सङ्घसंस्था, राजनीतिक दल, शिक्षक तथा सामाजिक अगुवासँग मिलेर साझा कार्यक्रम बनाउन नगरपालिका लागेको छ,” उहाँले भन्नुभयो। भारतीय सीमा क्षेत्रका बजारबाट लागूऔषध भित्रिन नदिन प्रहरीले कडा निगरानी गर्न, मोटरसाइकलमा सवार भएर भारतीय बजारतर्फ गएर सेवन गरेर आउने युवा भारततर्फ जान लाग्दा सीमा क्षेत्रमा रहेको प्रहरीले सोधपुछ गर्नुपर्ने शिक्षक काशिन्द्रप्रसाद साहले बताउनुभयो।

लहान नगरपालिका, सखुवानन्कारकटी र भगवानपुर गाउँपालिकाले संयुक्त रूपमा लागूऔषध नियन्त्रणको लागि साझा कार्यक्रम बनाएर विद्यालयमा सचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने नागरिक अगुवा दिनेश यादवले तर्क गर्नुभयो। लहान नगरपालिकाको सहरी क्षेत्रमा रहेका वडा नम्बर १–७ मा लागूऔषध सेवन गर्नेको सङ्ख्या उल्लेखनीय छ। लागूऔषध नियन्त्रणको लागि नगरपालिकाले कार्यक्रम ल्याए फूलबारी लायन्स क्लब लहानले अन्य सामाजिक सङ्घसंस्थालाई साथमा लिएर नगरपालिकाको यस अभियानलाई सघाउने क्लबका अध्यक्ष राकेश झाले प्रतिबद्धता व्यक्त गर्नुभयो।

इलाका प्र्रहरी कार्यालय लहानका नायब उपरीक्षक कुमार मैनालीले सबै मिलेर लागूऔषधमुक्त कार्यक्रमलाई सफल बनाउन प्रहरीलाई मद्दत मिल्ने विश्वास व्यक्त गर्दै प्रहरीलाई समयमा सूचना दिन पनि सबैमा आग्रह गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here