काठमाडौं । सोमबार दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपको फाइनलपछि नेपालका तीन खेलाडीले सन्न्यासको घोषणा गर्दै छन्।
उनीहरु आफ्नो बिदाइ सुखद होस् भन्ने चाहनामा रहेका छन्। एन्फा स्रोतका अनुसार तीन खेलाडीले भोलि सोमबार आफ्नो खेलजीवन अन्त गर्ने छन्। ती तीन खेलाडी पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले राष्ट्रिय टिमबाट अन्तिम खेल खेल्ने छन्।
तीनै खेलाडीले नेपाल आर्मीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। पुनम नेपाली राष्ट्रिय टिमकी डिफेन्डरका रुपमा रहेकी छिन्। त्यस्तै त्रिभुवन आर्मी क्लबकै दीपा राईले पनि सोमबार सन्न्यास लिने तयारी गरेकी छिन्।
उनी राष्ट्रिय महिला फुटबल टिम तथा त्रिभुवन आर्मी क्लबकी मिडफिल्डर समेत हुन्। त्यस्तै राष्ट्रिय टिमकै अर्की आर्मीकी मिडफिल्डर इन्दिरा राईले पनि सन्न्यासको घोषणा गर्न लागेकी हुन्।
प्री-म्याच कन्फ्रेन्समा राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले दुईदेखि तीन खेलाडीले सन्न्यास लिने जनाएका थिए। यद्पि उनले नाम भने खुलाउन चाहेका थिएनन्। खेलाडीहरु उपाधिसहित विदाइ हुने गरी तयारी गरिरहेको भन्दै उनले ती खेलाडीको सुखद बिदाइका लागि जित निकाल्ने विश्वास ब्यक्त गरेका थिए।


















