कैलालीमा अझै केही गाउँका घरहरू डुबान 

51
धनगढी । कैलालीको भजनी नगरपालिकामा तेस्रो दिनसम्म अझै केही गाउँका घरहरू डुबानमै  छन् ।
नदीहरूमै पानीको सतह धेरै नघटेकाले भजनी नगरपालिका–३ र ८ का केही गाउँ अझै डुबानमा छ । डुबानका कारण अझै पनि प्रभावितहरू घरसम्म जान सक्ने अवस्था नरहेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिनुभयो ।
‘अझै ९।१० गाउँ डुबानमै छन्’, उहाँले भन्नुभयो,‘अन्यतिर पानी घटे पनि मान्छे आ–आफ्ना घरमा अझै फर्कन सकेका छैनन् ।’ आज अलि धेरै पानी घटेमा त्यसपछि केही गाउँका मान्छे घरसम्म पुग्न सक्ने चौधरीले बताउनुभयो ।
शनिवार कान्द्रा, पथरैया, काँढा र मोहना नदीको बाढीका कारण भजनी नगरपालिकाको नौ वटै वडामा डुबान भएको थियो । डुबानका कारण पालिकामा मात्रै पाँच हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् । उनीहरू सडक, विद्यालय, सुरक्षित भवन, पक्की घरको छत लगायतमा बसिरहेका छन् ।
हिजो बेलुकासम्म सबैको उद्धार गरिएको र फास्ट फुडसहित पानी वितरण गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।
यसैबिच, भजनी नगरपालिकामा बाढीमा डुबेर थप एक जनाको ज्यान गएको छ । हिजो पानीमा डुबेर वडा नम्बर भुरुवाका एक बालकको ज्यान गएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । शनिवार मात्रै गैरी नालामा डुबेर वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरीको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here