अल्ट्रासाउण्ड सेवा नियमनबारे तीन बुँदे निर्देशन जारी

82

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवा नियमनबारे तीन बुँदे निर्देशन जारी गरेको छ। काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रुपमा रेडियोलोजी सेवा अन्तर्गतको अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको गुनासो आएपछि तीन बुँदे निर्देशन जारी गरेको हो।

‘स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७०’ को दफा २३ मा उल्लेख भए बमोजिम एक्स-रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, लगायतका रेडियोलोजी सेवा तथा सो को रिपोर्टिङ रेडियोलोजिष्टहरुले मात्र गर्न पाउने व्यवस्था छ।

यसका साथै जीवन बचाउने, हातगोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफैं वा उसको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने विषयमा नेपाल मेडिकल काउन्सिल प्रष्ट रहेको काउन्सिलल जनाएको छ।

यस्ता छन् काउन्सिलको तीन बुँदे निर्णय
१. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ग) (१) (२) मा गरिएको व्यवस्था अनुसार रेडियोलोजी तथा इमेजिङको आधिकारिक रिपोर्टिङ नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिष्टका रुपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउने।

२. स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ङ) मा गरिएको व्यवस्थामा आधारित रहेर आफ्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको अल्ट्रासाउण्ड तालिम प्राप्त नेपाल मेडिकल काउन्सिलको दर्तावाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा जनरल प्राक्टिस/इमरजेन्सी मेडिसिन विशेषज्ञले अल्ट्रासाउण्डको प्रयोग गर्न पाउनेछन् । अल्ट्रासाउण्ड तालिमको आधिकारिकता तथा प्रमाण काउन्सिलबाट जाँचबुझ हुनसक्ने छ।

३.सीमित सीप तथा कौशल सहितको अल्ट्रासाउण्ड तालिम प्राप्त गरेका स्वास्थ्यकर्मीले खास प्रयोजनका लागि सरकारले तोकेका स्थानमा तोकिएका विषय तथा अङ्गको मात्र अल्ट्रासाउण्ड गर्नुका साथै त्यस्तो तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारी, नीजि तथा संस्थागत सेवा प्रदायक निकायमा आफूले उपचार गर्दैआइरहेको र उपचार गर्नुपर्ने बिरामीको रोग पहिचान, निदान तथा उपचारमा सहयोग पुग्ने हेतुले अल्ट्रासाउण्ड गर्न पाउने तर व्यावसायिक रिपोर्टिङ गर्न नपाउने।

माथि उल्लेखित बाहेक ऐन, नियम तथा व्यवस्थापनका विपरीत अनाधिकृत रूपमा अल्ट्रासाउण्ड गरेको वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भैजाने व्यहोरा सबैमा सूचित गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here