नेपाल रेबिज उन्मूलन गर्ने लक्ष्यमा

65

काठमाडौं । नेपालले आगामी सन् २०३० भित्र रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । रेबिजका बिरामी बर्सेनि बढ्दो क्रममा रहेकाले सरकारी लक्ष्यअनुसार रेबिज उन्मूलन गर्ने लक्ष्यमा भने चुनौती थपिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५५ हजारलाई कुकुरले टोकेको थियो । यस्तै २०७८/७९ मा ७५ हजार ५६२ जनालाई कुकुरले टोकेको थियो ।

महाशाखाअन्तर्गतको जुनोटिक तथा अन्य सरुवा रोग शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाले सरकारी लक्ष्यअनुसार कुकुरले टोक्ने तथा रेबिज लाग्नेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । गाेरखापत्र

यस्तै सरकारले प्राथमिक स्वास्थ्य केन्द्रसम्म निःशुल्क रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आएको भए पनि रेबिज लाग्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । सरकारले सात प्रदेशका १४ अस्पतालबाट इम्युनोग्लोबुलिन उपलब्ध गराउँदै आएको छ ।

यस्तै यही वर्षबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट रेबिज पीसीआर परीक्षण सुरु हुँदै छ । लक्ष्यअनुसार रेबिज सङ्क्रमित बिरामीको सङ्ख्या घट्नुपर्छ तर हरेक वर्ष रेबिजका बिरामी बढ्दै जानुले लक्ष्य प्राप्तिका लागि चुनौती थपिदिएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार पछिल्लो पाँच वर्षमा क्रमशः रेबिजका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सरुवा रोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार रेबिजबाट टेकु अस्पतालमा मात्रै बर्सेनि २० देखि ३० जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा टेकु अस्पतालमा मात्रै रेबिजबाट २७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा भने १३ जनाको मात्र मृत्यु भएको थियो ।

डा. पुनका अनुसार सरकारले एन्टीरेबिज खोप निःशुल्क वितरण गर्दै आइरहेको छ तर अधिकांश बिरामीलाई रेबिजविरुद्धको खोप निःशुल्क पाइन्छ भन्ने जानकारी छैन । उहाँले भन्नुभयो, “सरकारी लक्ष्यलाई चुनौती दिँदै रेबिजका बिरामी बढ्दो क्रममा छन् ।”

टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले अस्पतालमा दैनिक ३५० देखि ४०० बिरामी कुकुरलगायतका जनावरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । उहाँका अनुसार गत वर्ष मात्र टेकु अस्पतालमा एक लाख १० हजार रेबिजविरुद्धको खोप खपत भएको छ ।

घरमा पालेको कुकुर हो, कुकर बाहिर गएको छैन त्यसैले मलाई खोप आवश्यक छैन भन्ने सोचाइ रहेको बताउँदै डा. पुनले यस्तै सोचाइले रेबिज बढेको बताउनुभयो । पल्लो घरको कुकुरले छ्यास्स टोकेको हो, ठीक भइहाल्छ, औषधि पसलमा गलत परामर्श दिँदा, घाउ निको भइसक्यो खोप चाहिँदैन, सानो घाउ हो बिस्तारै ठीक होला, टिटानसको सुई लगाएँ, म ढुक्क छु भन्ने मान्यताले गर्दा रेबिज बढेको उहाँले बताउनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here