आज पाल्पाको मैनादीमा सुन्तला महोत्सव

75

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो।

पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुँवरले बताए । वडा कार्यालयले आयोजना गरेको सुन्तला महोत्सवमा सरोकारवाला निकायले सहयोग गरेको उनले बताए ।

मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्तला खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधीकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा किसानलाई जानकारी पनि दिइने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

यो वर्ष मैनादीका किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेको जनाएका छन् ।  सिंगो पालिकाबाट यो सिजनमा मात्रै चार करोड बढीको सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here