चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउँछ : मुख्यमन्त्री पोखरेल

67

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दशैंलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताउनुभएको छ।

विजयादशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पुर्‍याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउन योगदान गर्ने बताउनुभयो।

“हाम्रो देश बहु सांस्कृतिक, बहु जातीय, बहुभाषिक एवं बहु धार्मिक विविधताले भरिपूर्ण छ। विविधताबीचको एकता नै हाम्रो विशेषता हो”, उहाँले भन्नुभयो।

प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हाम्रो साझा दायित्व रहेको उल्लेख गर्दै उहाँले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताउनुभयो।

हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ।

यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले महामारीका रूपमा फैलिएको डेङ्गीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरूपमा अवलम्बन गर्नुपर्ने बताउनुभएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here