मनाङमा हिमपात, सतर्कता अपनाउन प्रशासनको अनुरोध

43

बेलिना थापा

लमजुङ, असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको हो ।

हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । चिसो बढेको छ । पानी पनि परिरहेको छ, उहाँले भन्नुभयो, ‘हिउँ परिरहेको छ । यस बर्ष असोजमै चाँडै हिमपात भयो । अब यो क्रम बढ्दै जान्छ ।’

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा हिउँ परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यसबर्ष भने अक्टोबर ६ मै हिउँ परेको छ ।

हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन् । हिउँले वस्तीमाथिका डाँडाहरु सेताम्मे भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार बुधबार रातिदेखि हिउँ पर्न थालेको छ । अहिलेसम्म २ फिटसम्म हिउँ जमिसकेको उहाँले बताउनुभयो ।

हिमपातका कारण बिजुली बन्द भएको छ । इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् । मनाङमा गत बर्ष मंसिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो । यस बर्ष २ महिना अघिदेखि नै हिमपात भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी बर्षा भएको छ । बर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका लगायतको उच्च भूभागमा हिमपात भएको छ । तल्लो क्षेत्रमा पनि चिसो बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन पनि भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई समेत सचेत रहन उहाँले अनुरोध गर्नुभयो । हिउँ र बर्षातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोष्टमा खबर गर्न भनिएको प्रजिअले बताउनुभयो ।

विपद् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्व सतर्कता अपाउन, बर्षात रोकिनासाथ बाटोघाटो ठीक दुरुस्त सूचारु गराउन जनशक्तिसहित मेशीन उपकरण तयारी अवस्थामा राख्न सरोकारवाला सबैलाई प्रशासनले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here