बिचारबिहिन गठबन्धनलाई मतदान नगर्न अपिल

69
नेकपा राष्ट्रिय एकता अभियानको चुनाव सम्बन्धि धारणा यस्तो आयो
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवैलाई मतदान नगर्ने भएको छ । सो पार्टीले दुवै गठबन्धन विचारविहीन भएका हुनाले गठबन्धनलाई मतदान नगर्न आफ्ना पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरु र आम जनतालाई आह्वान समेत गरेको छ । अभियानका अध्यक्ष वामदेव गौतमले जारी गरेको प्रेस वक्तव्यमा अहिले देखापरेको दुई गठबन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध रहेकाले समर्थन र मतदान गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।
सरकारले आसन्न निर्वाचनका लागि तयारी गरिरहँदा केही दल तथा राजनीतिक समूहले भने असन्तुष्टि जनाउँदै निर्वाचनको औचित्य समाप्त भएको जनाएका छन् । यो सूचीमा अब नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान पनि थपिएको हो । विशेषगरी राजनीतिक दलहरुबीच विचार, सिद्धान्त, पार्टी मूल्यमान्यतामा आकाशपातालको फरक भए पनि निर्वाचन जित्नकै लागि सहकार्य बढ्दा गठबन्धनप्रति वितृष्णा बढ्दै गएको हो । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको गठबन्धन छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।
चुनावमा भागबण्डा गरेर निर्वाचन लड्ने र पछि सत्ताका लागि सरकार बनाउने गिराउने अस्थिर खेल हुने भएकाले पनि यो निर्वाचन जनताको मतदान अधिकारलाई कुण्ठित र झुक्याउने खेल बन्दै गएको छ । गत निर्वाचनमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन भएको थियो । गठबन्धनलाई विश्वास गर्दै जनताले स्थिर सरकार बन्ने अपेक्षामा बहुमत दिएका थिए । तर, दुवै दल एकीकरणबाट बनेको नेकपाले सरकार टिकाउन न त सकेन नै, आफै विभाजनको चपेटामा पर्यो । त्यतिबेला त दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको थियो । ती दलका सिद्धान्त, विचार, मान्यताहरुमा तालमेल देखिन्थ्यो । तर, अहिले चुनावका लागि भएका गठबन्धन त अप्राकृतिक हुनुका साथै सत्ता केन्द्रित मात्र देखिएको छ । निश्चित पार्टीको निश्चित व्यक्तिलाई प्रधानमन्त्री बनाउन र केही दलबीच गठबन्धन गरेर सत्ताको ‘तर मार्ने’ प्रयास भएको देखिन्छ ।
निर्वाचन नेपाली जनताले आफ्नो भाग्य र भविष्य सुनिश्चित गर्न प्रयोग गर्ने सबैभन्दा ठूलो लोकतान्त्रिक अधिकार हो । यो हाम्रो अधिकार मात्र नभएर महत्वपूर्ण कर्तव्य पनि हो । त्यसकारण निर्वाचन बहिस्कारभन्दा पनि योग्य उम्मेदवारलाई मतदान गरेर जिताउन नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले आग्रह गरेको छ । ‘निर्वाचनमा भाग लिन आफ्नो पार्टी छैन र सिद्धान्तविहीन पार्टीका नाममा मतदान गर्न पनि सकिन्न । यस्तो अवस्था सृजना भएको हुनाले संस्थागत रुपमा भागलिन नपाए पनि हाम्रा नेता, कार्यकर्ता, सदस्य र समर्थक तथा सुभचिन्तकहरुले व्यक्तिगत रुपमा भए पनि यो निर्वाचनमा भाग लिएर आफ्नो कर्तव्य पूरा गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले मतदातालाई सही जनप्रतिनिधि चुन्न आग्रह गरेको छ । पछिल्लो समय आपराधिक कर्म गर्ने, भ्रष्टाचार, अनियमिततामा संलग्न रहने र निर्वाचनपछि आफ्नो दायित्व र जिम्मेवारी भुल्ने व्यक्तिहरु फेरि उम्मेदवारी दर्ता गरेर जनताको घरदैलोमा पुग्दै छन् । अझ दलहरुबीचको अप्राकृतिक गठबन्धनले त जनतालाई सही जनप्रतिनिधि चुन्ने अवसर पनि खुम्च्याएको छ । प्रत्यक्षतर्फ टिकट पाउनेमा धेरैजसो पार्टी नेतृत्वको नजिकका, आफन्त र आसेपासेहरु छन् । थुप्रै योग्य नेताहरु नेतृत्वको आलोचना गरेकै भरमा टिकट पाउनबाट वञ्चित भएका छन् । अर्कोतर्फ एकै व्यक्ति निर्वाचनमा लडिरहने र पार्टीकै युवा पंक्तिले सक्षम हुँदाहुँदै पनि मौका नै नपाउने अवस्था पनि छ । त्यसकारण जनतालाई उम्मेदवार छनोटमा पनि सजग हुनका लागि बुद्धिजीवी वर्गले आह्वान गर्दै आएका छन् ।
त्यसका लागि दलबाट उम्मेदवारी दिएकालाई भन्दा विचार, आफ्नो क्षेत्रको विकासमा संलग्नता र जनताको अपेक्षामा खरो उत्रिनसक्ने उम्मेदवारलाई यसपटक जनताले मतदान गर्नुपर्ने देखिन्छ । वैचारिक हिसाबाले अहिले दुई गठबन्धनको कुनै स्पष्ट खाका नभएकाले पनि उनीहरुलाई मतदान गर्न नहुने नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानको धारणा छ । केवल सत्ताका लागि मात्र अहिलेको गठबन्धन भएकाले पनि यसपटक दलगत मानसिकताबाट जनतालाई माथि उठ्न उक्त पार्टीले आह्वान गरेको छ । ‘सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरु दुई गठबन्धनमा आबद्ध भएको र यी दुवै गठबन्धनको उच्चतम उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही रहेको देखिन्न,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, गठबन्धनमा आबद्ध भएका कतिपय पार्टीले मतदातालाई झुक्याउन चुनावी घोषणापत्र जारी पनि गरेको र यथार्थमा ती गठबन्धनमा आवद्ध दलहरुका छुट्टा छुट्टै घोषणापत्रहरुको कुनै औचित्य नदेखिएको पनि विज्ञप्तिमा उल्लेख छ । त्यसैले मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न उम्मेदवारलाई लिखित प्रतिबद्ध गराउने कामको अगुवाई गर्न पनि उक्त पार्टीले आग्रह गरेको छ । बिज्ञप्तिको पूर्ण अंश यसप्रकार छ:-
         मंसिर ४ गते हुन गैरहेको आमनिर्वाचनका सम्बन्धमा
                                 हाम्रो कार्यभार !
                                   प्रेस विज्ञप्ती
                                     – – – – – – – –
आदरणीय नेपाली दिदी बहिनी र  दाजु भाईहरु !
 नेपालको संविधान जारी भएपछिको दोस्रो संसदीय निर्वाचन आगामी मंसिर ४ गते हुन गइरहेको यहाँहरु सबैलाई अवगत नै छ । सिद्धान्त, नीति र योजनासहित निर्वाचनमा भाग लिनका निम्ति हामीले पनि आफ्नो पार्टी नेकपा राष्ट्रिय एकता अभियानलाई निर्वाचन आयोगमा दर्ता गरेका थियौं । तर विभिन्न कारणहरुले गर्दा हामीले आफ्नो पार्टीलाई निर्वाचनमा सामेल गराउन असमर्थ भयौं ।
हाम्रो पार्टीले निर्वाचनलाई आफ्नो भाग्य र भविष्य सुनिश्चित गर्ने नेपाली जनताको सबैभन्दा ठूलो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसरका रुपमा लिनु पर्दछ भन्ने मान्यता राख्दछ। यो हाम्रो अधिकार मात्र नभएर महत्वपूर्ण कर्तव्य पनि हो। त्यसो भएर हामीले निर्वाचन वहिस्कार गर्नु हुन्न, मतदानमा भाग लिएर आफ्नो कर्तव्य पुरा गर्नुपर्छ भन्ने मान्यता राख्दछौं । तर यसपटक निर्वाचनमा भाग लिन हाम्रो पार्टी तयार छैन र सिद्धान्तविहिन पार्टीका नाममा मतदान गर्न पनि सकिने अवस्था छैन । यस्तो अवस्था सृजना भएको हुनाले संस्थागत रुपमा भागलिन नपाए पनि हाम्रा नेता, कार्यकर्ता, सदस्य र समर्थक तथा सुभचिन्तकहरुले व्यक्तिगत रुपमा भए पनि यो निर्वाचनमा भाग लिएर आफ्नो कर्तव्य पुरा गर्नु पर्दछ भन्ने हाम्रो आग्रह छ । यस्तो अवस्थामा हामीले  कहाँ र कसरी अभिमत प्रकट गर्नु पर्दछ भन्ने सम्बन्धमा मार्गदर्शन गर्नु पार्टीको कर्तव्य ठानेर यो प्रेस वक्तव्य जारी गरिएको छ ।
पार्टीका सबै कमरेडहरुले यही प्रेस वक्तव्यलाई आधार बनाई निर्वाचनमा आफ्नो अमूल्य मत कुनै लोकप्रिय उमेदवारलाई जाहेर गर्नुहुनेछ भन्ने आशा गरिएको छ ।  सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरु दुई गठबन्धनमा आवद्ध भएका छन् । यी दुवै गठबन्धनको उच्चतम् उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही रहेको देखिन्न। गठबन्धनमा आवद्ध भएका कतिपय पार्टीले मतदातालाई झुक्याउन चुनावी घोषणापत्र जारी पनि गरेका छन् । तर यथार्थमा ती गठबन्धनमा आवद्ध दलहरुका छुट्टा-छुट्टै घोषणापत्रहरुको कुनै औचित्य देखिदैन ।किनभने ती गठवन्धनका साझा घोषणा पत्र होइनन्  र छुट्टै एउटा साझा घोषणापत्र पनि वनेको छैन।
अहिले देखा परेको दुइ गठवन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध रहेको स्पष्ट छ । वास्तवमा यी दुइ गठवन्धनका कृयाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको स्पष्ट हुन्छ । यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन ।
उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र सुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं । यसरी मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न र स्थानीय जनताका समस्या समाधानका लागि लिखित रुपमै प्रतिबद्ध गराउने कामको अगुवाई गर्नु हुनेछ। त्यसोगर्दा हाम्रो पार्टीका नेता-कार्यकताहरुले उमेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य गर्नुहुने छैन, साथै उमेदवारहरुको भोजभतेरमा सहभागी हुनुहुने छैन।धन्यवाद !
                                                     वामदेव गौतम
                                                        अध्यक्ष
                                           नेकपा राष्ट्रिय एकता अभियान
                                              मितिः- २५ आश्विन २०७९
जनधारणा सप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here