काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा प्रति व्यक्ति १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ । बुधबार बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्दै विभिन्न शीर्षकमा सहुलियतपूर्ण लघु वित्त तथा विपन्न वर्ग कर्जा उपलब्धताको घोषणा गरेको हो ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान बापत व्यहोर्ने र बाँकी ५० प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लि.ले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
कर्जा प्रवाह र सुरक्षण सम्बन्धी सम्झौता पत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


















