तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती

34

काठमाडौं । तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।

विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएकी लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी नभई नहुने भएकाले सबैको रोजाइमा परेको जानकारी दिइन् । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारको दिन सजिने गर्छन् ।

ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व र कार्यक्रममा ढाकाटोपी लगाइने गरिन्छ । व्यापारी सुरेश नगरकोटीले पनि तिहारलाई ध्यानमा राखेर ढाकाटोपी बिक्री गरिरहेका छन् । उनले धेरै माग हुने भएकाले तिहारलाई लक्षित गरी सामान मगाएको बताए । नगरकोटीले ढाकाटोपी १५० देखि ५० हजार रुपियाँसम्मका रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँसम्मका टोपी बढी बिक्री हुने बताए ।

संस्कृतिविद् एवं भाषाविद् गणेशराम लाछीले भने, “ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान हो । यो हाम्रो आस्थाको प्रतीक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह, व्रतबन्ध र सभा–सम्मेलनमा ढाकाटोपी लगाउने प्रचलन छ ।”

उनका अनुसार तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।

ढाकाटोपी नेपालीको कला, धर्म र संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यका दौरान निधार तथा शिर खाली राख्न हुन्न भन्ने मान्यताअनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाकाटोपी लगाउने गरिन्छ ।

संस्कृतिविद् डा. चुन्दा वज्राचार्य भन्छन्, “तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ ।” टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले नै ढाकाटोपी उपहार दिइन्छ । अर्कोतिर भाइटीकामा माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने धारणा पनि छ । यही कारण टोपी पहिर्याइदिने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here