काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सञ्चालनमा ल्याउने भएको छ।
यो अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध हुनेछ। प्रति सन्देश ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।
२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ। यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ। नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले जनाएको छ।

















