काठमाडौं । घरेलु उपकरण (हाेम अप्लायन्सेस) का लागि चर्चित ब्रान्ड ‘बोश’ (Bosch) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिले जर्मनीमा आधारित बीएसएच होम अप्लायन्सेसकाे चर्चित ब्रान्डका रूपमा रहेकाे बोशका उत्पादन नेपाल भित्र्याएको हो ।
कम्पनीले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई नेपालभर विस्तार गर्ने योजना बनाएको छ । त्यसका लागि कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आईटी प्लाजामा बोशको आधुनिक स्टोर सञ्चालनमा ल्याएको छ ।
‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं,’ बिएसएच होम अप्लायन्सेस भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम हो ।’
बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुतरूपमा बढिरहेको छ । यस्तोमा जर्मन ब्राण्ड बोशका उपकरणहरूले नेपाली बजारमा राम्रो स्थान बनाउने विश्वास छ ।
‘नेपाली उपभोक्ताका लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बीएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुसी छौं,’ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले भने, ‘लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ ।’

















