ओरालो लागेको अर्थव्यवस्था र जनतामाथि थोपरिएको महँगी

77
–प्रीतिरमण
मुलुक अहिले चाडपर्वमय भएको छ । नेपालीहरुको मुख्य चाड दशैं, तिहारसँगै छठ पर्व पनि मनाइने क्रममा छ । चाडपर्व भनेको वर्षमा एक पटक उल्लाससाथ मनाउने दिन हो । यस्तो बेलामा आर्थिक हैसियत कम भएका व्यक्तिहरु कहीँकतैबाट रकम जोहो गरेर परिवारको चाहना पूरा गर्ने र चाडपर्व मनाउने गर्छन् । तर, पछिल्लो समय बजार भाउ अचाक्ली बढ्दा त्यसको सिधा असर भने यिनै कम आयआर्जन भएका व्यक्तिहरुलाई परेको छ । चाडपर्व मनाउने बेलामा मात्र हैन, अरु समयमा पनि महँगीका कारण दैनिक जीवनमा गरिने खर्चमा पनि ठूलो कटौती गर्नुपर्ने भएको छ ।
केही समययता मुलुकको अर्थव्यवस्था नराम्ररी बिग्रिँदा त्यसको असर बजार मूल्यमा देखिएको छ । पछिल्लो भदौ महिनाको तथ्यांकलाई हेर्ने हो भने पनि मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’का अनुसार यो वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि) ८.६४ प्रतिशत पुगेको हो । जब कि गत वर्ष भदौ महिनामा यस्तो मुद्रास्फिति अहिलेको भन्दा आधा कम थियो । त्यतिबेला मूल्यवृद्धि ३.४९ प्रतिशत थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्ला दुई महिनामा देशमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.१७ प्रतिशत, गैरखाद्य तथा सेवा क्षेत्रमा २ प्रतिशतको मूल्यवृद्धि भएको छ । भदौमा खाद्य तथा पेय पदार्थहरु तथा फलफूलमा १७.२९, घ्यु तथा तेलमा १४.५३, रेष्टुरेन्ट तथा होटलमा १२.३०, मदिराजन्य पेय पदार्थमा १०.२४ र तरकारीहरुमा ९.९४ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । खाद्य तथा पेय पदार्थभन्दा बाहेकका र सेवा समूहमा देखिएको मूल्यवृद्धिअन्तर्गत यातायातमा २३.४१, स्वास्थ्यमा १०.५५, फर्निसिङ तथा घरायसी उपकरणहरुमा ९.२५, शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुमा ७.६९ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै मूल्यवृद्धि तराईमा छ । तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६ प्रतिशत मूल्यवृद्धि देखिएको हो । काठमाडौं उपत्यकामा भने ७.६२ प्रतिशत मूल्यवृद्धि छ ।
बिग्रँदो अर्थव्यवस्थाका कारण मुलुकको हरेक क्षेत्रमा मूल्यवृद्धि देखिएको विश्लेषकहरुको भनाइ छ । राष्ट्र बैंकका अनुसार भदौमा निर्माण सामग्रीको मूल्यमा पनि भारी वृद्धि देखिएको छ, जसमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत छ । यस्तै, उपभोग्य वस्तुमा १२.९१, मध्यवर्ती वस्तुमा १५.९३ र पूँजीगत वस्तुमा ६.३६ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।
मुलुकमा अहिले सत्ता गठबन्धनअन्तर्गत पाँच दलले सरकारमा छन् । सरकारमा कम्युनिस्ट पार्टीहरु पनि सहभागी छन् । उनीहरुको उद्देश्य नै सर्वहारा वर्गको पक्षमा काम गर्नु हो । तर, वामपन्थीहरुले उनीहरुको पक्षमा काम गर्न भने सकेका छैनन् । त्यति मात्र नभइ लामो समयदेखि घटिरहेको विदेशी मुद्रा सञ्चितिलाई उनीहरुले ट्रयाकमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई १०५१ अर्ब ५३ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई १३७ अर्ब ६३ करोड कायम भएको छ । भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ । अर्थव्यवस्थामा यसरी लामो समयदेखि असर देखिए पनि सरकार यसको सुधारका लागि भरपर्दो योजना ल्याउन चुकिरहेको छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here