प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्लामा पुगे

494

डडेल्धुरा ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्।  मंसिर ४ मा हुने चुनावका लागि देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार छन्। देउवा चुनावी प्रचारप्रसारका लागि आयोजित आमसभालाई सम्बोधन गर्न आज डडेल्धुरा पुगेका हुन्। उनी बुधबार काठमाडौंबाट धनगढी गएका थिए।  प्रधानमन्त्री देउवाले कात्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न पालिकामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्दा उनलाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि फूलमाला लिएर बसेका थिए।

देउवाले चुनावी घरदैलो भने नगर्ने भएका छन्। प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने चुनावी सभा हेर्न सत्ता गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरू भेला भएका छन्।  देउवाले आज अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।  यस्तो कात्तिक १८ गते बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ मै दिउँसो २:१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन्।  यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here