नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने विषयमा छलफल

62

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरुबीच छलफल भएको छ।

भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरीजिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा सतर्कताको सम्बन्धमा छलफल गरेका हुन्।   बिहीबार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशलकुमारलगायतको टोलीको सहभागिता रहेको थियो।

बैठकमा निर्वाचनको बेला सीमामा हुनसक्ने अवैध क्रियाकलापलाई रोक्ने सम्बन्धमा छलफल भएको छ। छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले खुला सीमानाको बोर्डरबाट हुने अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने सम्बन्धमा कुराकानी भएको बताए।  उनले निर्वाचनको ७२ घण्टा अगाडिदेखि सीमा बन्द गर्ने विषयलाई कसरी कडाइका साथ पालना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।  उनले भने, ‘यो सीमा सुरक्षा बैठक भनेको सीमासँग जोडिएको दुई वटा देशको दुई वटा जिल्लाहरुबीचको बैठक हो।

यसमा नेपालको तर्फबाट सुनसरी, सप्तरी र भारतीय पक्षबाट सुपौल जिल्लाको सुरक्षा निकायका प्रमुखहरु बसेर आज हामीले बैठक सम्पन्न गरेको अवस्था छ। मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा यो निर्वाचनलाई खुल्ला सीमाना बोर्डरबाट हुने अवैध किसिमका क्रियाकलापहरुलाई नियमन, नियन्त्रण गर्ने र मतदानको दिनभन्दा ७२ घण्टा अगाडिबाट सीमा बन्द गर्ने हाम्रो कानुनी व्यवस्था छ।’

बैठकपछि भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशलकुमारले नेपालको निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमामा आफूहरुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए।  उने निर्वाचन हुनु ७२ घण्टा अगाडि बोर्डरमा कडाइ गर्न आफूहरु तयार रहेको र सोही अनुरुप तयारी गर्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here