आजदेखि २७ औं सम्मेलन कोप–२७ सुरु

47

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) आज आइतबारदेखि सुरु हुँदैछ ।

यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा सम्मेलन हुन लागेको हो ।

सार्म ऐल शेख सहरमा हुन गइरहेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने एकमात्र माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ ।

कात्तिक २० देखि मंसिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ ।

यसअघिका सम्मेलनमा जस्तै हरित् गृह ग्यास कसरी कटौती गर्ने र जलवायु परिवर्तनको प्रभावसँग सामना गर्न आवश्यक खर्च कसरी जुटाउने भन्नेमा शक्ति राष्ट्रहरूको जोड रहने जनाइएको छ । जसअनुसार अत्यधिक कार्बन उत्सर्जन हुनेगरी उद्योग सञ्चालन गर्ने मुलुकहरूले प्रत्यक्ष प्रभावित अन्य मुलुकलाई भुक्तानी गर्ने विषयमा साना तथा कमजोर मुलुकहरूले बहस गर्नेछन् ।

जलवायु परिवर्तनको उद्धघोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्ष कोप–२६ सम्म आइपुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने विश्वास लिइएको छ ।

विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि उकासिँदै गएको घोषणा भइरहँदा अबका दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउन पनि सम्मेलन सहायक हुने विश्वास लिइएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here