एजेन्सी । अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको जनाएको छ । आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा जवाफ’ दिने चेतावनी दिएका थिए ।
ट्रम्पले यी आक्रमणहरू हिजो इरानले स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि गरेको बम आक्रमणको जवाफ भएको बताएका छन् । उनले चेतावनी दिँदै भने, ‘यदि यस्तो घटना फेरि दोहोरियो भने यसको जवाफ अझ कडा हुनेछ ।’
इरानी सञ्चारमाध्यमहरूका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । साथै, फारसी खाडीमा इरानको नियन्त्रणमा रहेका केही टापुहरूलाई पनि निशाना बनाइएको बताइएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानले होर्मुजबाट गुज्रिरहेका तीनवटा व्यावसायिक जहाजलाई निशाना बनाएपछि त्यसको जवाफस्वरूप इरानमाथि आक्रमण गरिएको जनाएको छ ।
यता, इरानले अमेरिकी आक्रमणको प्रतिकारस्वरूप बुधबार बिहानै बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले भने, ‘हामी अभद्रताको जवाफ अभद्रताले होइन, कार्यबाट दिन्छौं—निर्भीक भएर र पूर्ण साहसका साथ ।’
चाबहारमा पनि आक्रमण
इरानी सञ्चारमाध्यमहरूका अनुसार देशका अन्य तटीय क्षेत्रहरूमा पनि विस्फोट भएका छन् । विशेषगरी कोनारक र चाबहार सहरबाट लगातार धेरै विस्फोटका आवाज सुनिएको खबर सार्वजनिक भएको छ।
इरानको सरकारी टेलिभिजनले बन्दर अब्बास सहरमा आठवटा विस्फोट भएको तथा दक्षिणी इरानका सिरिक र जास्क बन्दरगाहमा दुई-दुईवटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार विवादित अबु मुसा टापुमा दुई वटा प्रक्षेप्य खसेका छन् । उक्त टापुको स्वामित्वलाई लिएर इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच लामो समयदेखि विवाद रहँदै आएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) सक्रिय गरिएको जनाएको छ । अमेरिकी आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन । तर इरानी सञ्चारमाध्यमका अनुसार चाबहारमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बुशेहरस्थित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक ब्यारेकमा आगलागी भएको छ ।
इरानी स्टुडेन्ट्स न्युज एजेन्सीका अनुसार चाबहारमा अवरुद्ध भएका तीनमध्ये दुई वटा विद्युत् लाइन तत्काल पुनः सञ्चालनमा ल्याइएको छ भने तेस्रो लाइन पनि चाँडै सञ्चालनमा आउने बताइएको छ ।

















