कतार विश्वकपका लागि यस्ताे बृहत् प्याकेज ल्यायाे

46

काठमाडौं । विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियल मात्र होइन यो महिना एक मिलियनभन्दा धेरै फुटबल समर्थक कतार पुग्नेछन् ।

संसारका चर्चित केहि सुपरस्टार कलाकारहरु मध्यपूर्वी देशको बाटोमा छन् । जसले आगन्तुक र कतारी जनतालाई फुटबलभन्दा बाहेक धेरै प्रदर्शनीबाट मनोरन्जन दिनेछन् ।

कतारले आफूलाई वर्षको अन्तिमसम्म विश्वमन्चमा आफूलाई प्रदर्शित गर्नेछ । विश्वको जनसंख्याको आधाभन्दा धेरै हिस्सा करिव ५ अर्ब मानिसले विश्वकपको गतिविधि हेर्ने अनुमान गरिएको छ । संसारले हेर्ने इभेन्टलाई सफल बनाउन कतार दृढ छ ।

सन् २०२२ को फिफा विश्वकप आयोजना अधिकार पाएयताको १२ वर्षमा कतारले दर्जनौं होटल र आवास कम्प्लेक्स निर्माण गरेको छ । नयाँ मनोरन्जनस्थल, समुद्र तट, संग्रहालय र रेस्टुरेन्ट यी सबै एकमुस्ट प्याकेजको एउटा हिस्सा हो ।

विश्वकपका दौरान तीन स्थानमा म्युजिक फेस्टिभल एकसाथ सन्चालन हुनेछन् । विश्वप्रसिद्ध ब्याण्ड ब्ल्याक आइड पिज र डीजे अर्मिन भान बूरेनको प्रस्तुतिमा विश्वकपका समर्थकहरु झुम्नेछन् ।

शुक्रबार दोहा गल्फ क्वबमा विश्वविख्यात गायक इनरिक इग्लेसेयसको प्रदर्शनी हुनेछ । सोही स्थानमा ब्ल्याक आइड पिज ब्याण्डले प्रस्तुति दिनेछ ।

आर्कियता महोत्सव तीन चरणमा सन्चालन हुनेछ भने १०० भन्दा बढी कलाकारले प्रस्तुति दिनेछन् । विश्वकप सुरु हुनुभन्दा १ दिन अघि अर्थात् नोभेम्बर १९ देखि डिसेम्बर १९ सम्म यो महोत्सव चल्नेछ ।

कतारको प्रतिष्ठित म्युजियम अफ इस्लामिक आर्टलाई पछिल्लो समय सर्वसाधारणका लागि पुनः खोलिएको थियो । सन् २०२२ मा सर्वसाधारणका लागि योबाहेक कतार ओलम्पिक र खेल संग्रहालय पनि खोलिएको छ ।

विश्वकपको यो संस्करण हेर्नका लागि १२ लाखभन्दा बढी मानिस कतार पुग्ने अनुमान गरिएको छ । अहिलेसम्म २९ लाख टिकट विक्री भइसकेको छ ।

कतार आउने समर्थकका लागि अपार्टमेन्ट, होटल, डेजर्ट क्याम्प, भिल्ला, फ्यान भिलेज र यहाँसम्म क्रुज जहाज पनि उपलब्ध हुनेछ । केहि समर्थकले युएई, ओमान र इरानमा गएर बस्नका लागि पनि यातायात सुविधा उपलब्ध हुनेछ ।

कतारमा अन्तर्राष्ट्रिय आगमनको संख्या पछिल्लो पाँच वर्षमा उच्चतम स्तरमा पुगिसकेको छ । सेप्टेम्बर महिनामा मात्रै १ लाख ५१ हजार व्यक्ति कतार पुगेका थिए ।

आयोजक कतारले भनेको छ, ‘कतार विश्वकपका क्रममा पूरै परिवारका लागि सांस्कृतिक र मनोरन्जनात्मक विकल्पको एक विशाल शृंखला प्रस्तुत गरिनेछ ।’
‘फुटबल प्रतियोगिताका अलावा देशव्यापी रुपमा हुने उत्सवमा ९० भन्दा बढी कार्यक्रम सन्चालन हुनेछ । तीमध्ये मुख्य कार्यक्रमहरु खेलको खुला प्रत्यक्ष प्रशारण, म्युजिक फेस्टिभल, सांस्कृतिक प्रदर्शनी र सडक प्रदर्शनी हुनेछन्,’ कतारले जारी गरेको वक्तव्यमा भनिएको छ ।

राजधानी दोहामा निर्मित कर्निस (समुद्रको किनारमा बनाइएको पैदल मार्ग) नोभेम्बरदेखि नै सन्चालनमा ल्याइएको छ । ६ किलोमिटर क्षेत्रमा एक कार्निभल वातावरण प्रदान गरिनेछ । जहाँ पर्यटकहरुका लागि प्रदर्शनी, सांस्कृतिक गतिविधि, भोजन र पेय पदार्थको स्टल र खुद्रा पसललगायत छन् ।

विश्वकपमा हुने भीडलाई ध्यानमा राखेर कतारले चुस्त सुरक्षा व्यवस्थाका साथ विश्वकप सम्पन्न गर्न भन्दै हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेछ । उसले मोरक्को, पाकिस्तान, बेलायत, टर्की र नाटोसहित थुप्रै देशसँग सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here