डिशहोमको एक–डेढ महिनामै आईपीओ निष्काशन हुने

51

काठमाडौं । डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले साधारण शेयर निष्काशन गर्ने कार्यलाई तीब्रता दिएको छ । कम्पनीले एक–डेढ महिनाभित्र आईपीओ निष्काशन गर्नेगरी कागजी प्रक्रिया पूरा गर्ने र स्वीकृति लिन लागेको हो ।

कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले आईपीओ निष्काशन गर्ने भनेर कुरा भएको चार–पाँच बर्ष नै भएकाले अब आफूहरु ढिलो गर्ने पक्षमा नरहेको बताए । उनले एक–डेढ महिनाभित्रै शेयर निष्काशन गर्न सकियोस् भनेर ‘फाष्ट ट्राक’मा काम गरिरहेको बताए ।

यसअघि बुक बिल्डिङ विधिमार्फत प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने भनिए पनि कम्पनीले त्यसलाई छोडेर प्राथमिक मूल्यमै आईपीओ निष्काशन गर्न लागेको छ । बुक प्रिमियम मूल्यमा शेयर र बुल्डिङ विधिमा जाँदा धेरै किसिमका जटिलता पनि देखिएको र समय पनि धेरै लाग्ने देखिएकाले प्राथमिक मूल्यमा नै शेयर निष्काशन गर्ने निचोडमा आफूहरु पुगेको आचार्यले बताए ।

कम्पनीले अहिले आफ्ना कर्मचारीदेखि वितरण सञ्जालमा आवद्ध सबैलाई संस्थापक शेयर बिक्री गरिरहेको छ । अहिले कम्पनी रजिष्ट्रारको कार्यालयको काम भइरहेको बताउँदै उनले यो सक्किनासाथै आईपीओ निष्काशन हुने बताए । आचार्यले भने, ‘अहिले नै कर्मचारी र डिलरहरुलाई शेयर ट्रान्सफर गरिएन भने आईपीओ निष्काशनपछि झन गाह्रो हुन्छ भनेर टुंग्याउन लागिएको हो ।’

डिशहोमले आफ्नो पुँजीको ११ प्रतिशत अर्थात करिव ३३ करोड कित्ता  साधारण शेयर सर्वसाधारणलाई दिन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here