काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि सो क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
१३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको हो ।
तत्कालको व्यवस्थापन
‘वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको छ,’ प्राधिकरणका एक इन्जिनियरले भने ।
भक्तपुरबाट ट्रान्सर्फर लैजाने तयारी
प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ ।
प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५/४५ एमभीएले प्रतिस्थापन गर्दैछ । त्यहाँ रहेका २२.५ एमभीएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ ।


















