निराशाजनक चुनाव : पतन भैसकेकाहरुबीच प्रतिस्पर्धा !

32

–निमकान्त पाण्डे

मंसिर ४ मा कौरव र पाण्डवबीच लडाइँ हुँदैछ भनेर नेकपा माकेका अध्यक्ष प्रचण्डले भन्नुभएको सुनियो । सुन्दै आश्चर्य लाग्ने प्रचण्डको यो अभिव्यक्ति नै राजनीतिक पतनको राम्रो उदाहरण हो । माक्र्सवाद लेनिनवादलाई राजनीतिक दर्शन मानेर राजनीति गर्ने कसैले पनि कथित धर्मयुद्धका काल्पनिक पात्रहरुको नाम लिएर विजय र पराजयका कुरा गर्न सक्दैन । तर प्रचण्डले विगतका आफ्नो जीवनसँग जोडिएका सबै विषयहरुलाई बिर्सिएर आफूलाई पाण्डव सावित गर्न खोज्नुभएको छ ।

प्रचण्डले आफूलाई पाण्डव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई कौरवको संज्ञा दिनुभएको भन्ने स्पष्ट नै छ । आश्चर्यलाग्दो कुरा के भने विगतमा यिनै दल र यिनै नेताहरु गठबन्धन बनाएर चुनावमा गएका थिए । एकीकृत भएर सरकार चलाएका थिए । दुवै दल कम्युनिस्ट विचारधारा, सिद्धान्तबाट प्रेरित छन् । दुवैको उदयको पृष्ठभूमि सामन्त वर्गसँगको युद्ध नै हो भने सर्वहारा वर्गको उत्थान र हित, साम्यवाद गन्तव्य उद्देश्य ।

तर, दुर्भाग्यवश भन्नुपर्छ देश चलाउने मौका पाएर पनि उनीहरु सफल हुन सकेनन् । बरु दलाल पुँजीपतिहरुको चंगुलमा फसेर आफैं भ्रष्टाचार र घूसखोरी गर्ने वर्गको मतियार बने । आफैं नवधनाढ्यको रुपमा उदाए । देशको विकास गर्छु, समृद्धि ल्याउँछु भनेर जनताको आँखामा छारो हालिरहे ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि डेढ दशक बितिसकेको छ । यो बीचमा जनताले युद्धको बलमा राजनीतिमा आएको माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउनेदेखि सत्ताको चाबी हस्तान्तरणसम्मको काम गरेकै थिए । जनताको पीरमर्कालाई प्रत्यक्ष देखेर र अनुभूत गरेर आएको पार्टी भएकाले पनि यिनका नेताहरुले वास्तवमै जनताको हितमा काम गर्छन् भन्ने उनीहरुको अपेक्षा थियो । तर, जनताको त्यस अपेक्षामा माओवादी खरो उत्रन सकेन । फेरि पुरानो दल एमालेसँग हातेमालो गरेर वाम गठबन्धन अघिल्लो चुनावमा जनताको घरदैलोमा पुग्यो । लामो समयदेखिको राजनीतिक अस्थिरताले आजित जनताले स्थिर सरकार आउँछ भन्ने अपेक्षामा वाम गठबन्धनलाई झण्डै दुई तिहाइ मत नै दिएको थियो । तर, ती दुवै दल एकीकृत भएर बनेको सरकारले जनताको अपेक्षानुकूल काम गर्नु त कहाँ हो कहाँ, आफूलाई र सीमित लुटेरा वर्गलाई फाइदा हुनेगरी मात्र काम ग¥यो । यही बेलामा कोभिडको समस्या विकराल हुँदा, यती, ओम्नी जस्ता काण्डहरु भए । वाइडबडी घोटाला र अन्य भ्रष्टाचारका घटना बढिरहे । नेकपाका नेताहरु भने सरकार र पार्टीमा पदको विषयलाई लिएर छिनाझपटीमै लागिरहे । फलस्वरुप जनताले दिएको दुई तिहाइ मत खेर गयो । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र कायम भए । वास्तवमा कौरवको हालतमा कम्युनिष्ट नेताहरु पुगे भने कांग्रेसले पाण्डवको हैसियत पायो १

नेकपा विभाजन हुनु, सरकार ढल्नु ओली र प्रचण्डको असफलता मात्र होइन, जनताले आजसम्म देखेका विकासका सपनाको अवसान पनि हो । त्यो भन्दा अझै नेपालको कम्युनिस्ट आन्दोलनलाई कलंकित पार्ने ठूलो घात पनि हो । त्यसका दोषी हुन्, यिनै ओली र प्रचण्ड । उनीहरु अहिले बेग्लाबेग्लै गठबन्धन बनाएर चुनावमा होमिएका छन् । प्रचण्ड नेतृत्वको माओवादी कांग्रेसको फेरो समातेर चुनावमा प्रतिस्पर्धा गर्दैछ भने एमालेले राप्रपा र जसपासँग घाँटी जोडेको छ ।

कांग्रेस र माओवादी आफैमा दुई विपरीत ध्रुवका पार्टी हुन् । यता, एमाले कम्युनिस्ट र सर्वहाराको पार्टी, राप्रपा सामन्तवादको प्रतीक मानिने राजसंस्थाको हिमायती पार्टी । दुवै गठबन्धन अप्राकृतिक र अस्वाभाविक छन् । यो केवल बाँडीचुँडी सत्ताको उपभोग गर्ने तारतम्य हो भन्नेमा जनता अब जानकार भइसकेका छन् ।

अर्कोतर्फ यिनै प्रमुख पार्टीहरुको नेतृत्वमा पुरानै, टेस्टेड र असफल साबित भइसकेका नेताहरु छन् । कांग्रेसको नेतृत्वमा छन्  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । पाँच पटकसम्म मुलुकको नेतृत्व गरेका देउवाबाट विकास हुने भए आजसम्म भइसक्थ्यो । तर, उनी अझै गठबन्धनको बलमा प्रधानमन्त्री हुने दाउमा छन् । एमालेमा ओली कहिले धार्मिक तथ्यलाइ समातेर जनताको मत आकर्षित गर्न खोजिरहेका छन् भने कहिले राष्ट्रवादको नक्कली छवि प्रस्तुत गरेर । उनकै जस्तै चरित्र प्रस्तुत गरिरहेका छन् प्रचण्डले । नेकपा एसका अर्का नेता माधवकुमार नेपाल जनतालाई फ्रि भिसाको सस्ता नाराले भुलाउन खोजिरहेका छन् ।यी सबै गतिबिधिहरुले नेताहरुको बैचारिक पतनलाई प्रमाणित गरिरहेका छन् १

दलका नेताहरुले विगतमा गरेका कार्यशैली सबै राष्ट्रको हितमा देखिएका छैनन् । यसैबाट पनि नेताहरु असफल साबित भइसकेका छन् । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएर नैतिक रुपमा पतन भइसकेका नेताहरु अहिले फेरि एकअर्कालाई सत्तोसराप गर्न र आफूलाई दूधले नुहाएको जस्तो प्रमाणित गर्न लागिपरेका छन् । उनीहरुसँग आगामी निर्वाचनका लागि जनतासामु पस्किने न कुनै नयाँ एजेन्डा छ, न आफूले गर्न नसकेको कामको फेहरिस्त वा गरेकै कामहरुको नै । त्यसैले पनि उनीहरुको भाषणको विषय नै एकअर्का बिरुद्ध उछित्तो काढ्नु रहेको छ । यसै सन्दर्भमा अहिले देउवा, ओली, प्रचण्ड र नेपालबीच गालीको दोहोरी चलिरहेको छ । त्यसकारण यो प्रतिस्पर्धा पतन भैसकेका र असफल भएकाबीचको हो भनेर जनताले स्पष्टसाथ बुझेका छन् । तर जनतासामू बिकल्प छैन, यो देशको बिडम्बना नै हो, यसको विकल्पबारे अब सोच्नुपर्ने बेला भैसकेको छ, आगे सबैलाई चेतना भया ! -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here