–प्रीति रमण
०६२–६३ को जनआन्दोलन–२ लगत्तै मधेसमा पनि आन्दोलनको रापताप सुरु भयो । वर्षौंदेखि केन्द्रीकृत राज्यका कारण सधैं उपेक्षामा परेको मधेसले यसपटक आफ्नो हिसाबकिताब स्पष्ट पार्ने नै उद्देश्य लिएको थियो । जसको नेतृत्वमा थियो, मधेसी जनअधिकार फोरम दल । फोरमसँगै अन्य मधेसी दलहरु पनि उक्त आन्दोलनमा सहभागी थिए । मधेसी दल तथा जनताको जबर्जस्त विरोधको स्वर राज्यलाई सुन्न कर नै लाग्यो । यसले मधेसी दलहरु पनि राष्ट्रिय राजनीतिमा स्थापित भए । २०६४ मा भएको निर्वाचनमा फोरम चौथो ठूलो दल बन्न सफल भयो ।
पछिल्लो डेढ दशकमा मधेसी दलहरुले राम्रै उडान भरे । केन्द्रमा बन्ने कुनै पनि दलको सरकारमा मधेसी दलहरुको सहभागिता अनिवार्य हुनैपर्ने अवस्था आयो । कांग्रेस र एमालेजस्ता ठूला दल छाडेर मधेसी दलमा प्रवेश गर्ने नेताहरुको लर्को नै ल्यायो । मधेसी जनताले पनि ठूलो अपेक्षाका साथ मधेसी दलहरुलाई साथ र सहयोग दिए, विश्वास गरे । तर, पछिल्लो समय भने तिनै मधेसवादी दलहरुबीच फुट र नेताहरु अवसरवादी बन्न मधेसी जनता नयाँ विकल्प खोज्न बाध्य भएका छन् ।
पछिल्लो चुनावमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राम्रै स्थान हासिल गरे । त्यही कारणले यी दलबीच एकीकरण नै भयो । नयाँ पार्टीको रुपमा जसपा निर्माण भयो । मधेस प्रदेशमा त जसपाको नेतृत्वमा सरकार नै बन्यो । यो पार्टीको नेतृत्वमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई जस्ता नेताहरु थिए । तर, अन्य पार्टीमा जस्तै यो पार्टीमा पनि आन्तरिक विवाद सुरु भयो । नेताहरु आपसमा मिल्न नसक्दा एकीकरणको छोटो समयमा नै पार्टीमा फुट आयो ।
अहिले जसपा टुक्रिएर तीन भागमा विभाजित भएको छ । मूल पार्टी जसपा अहिले उपेन्द्र यादवको नेतृत्वमा छ । विभाजित भएपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्षमा महन्थ ठाकुर छन् । यस्तै डा. बाबुराम भट्टराई पनि जसपाबाट छुट्टिँदै नेपाल समाजवादी पार्टी गठन गरेका छन् । तिनै पार्टी छुट्टाछुट्टै रुपमा निर्वाचनमा सहभागी भएका थिए । चुनावअघि सत्ता गठबन्धनमा रहेको जसपा आफूले पर्याप्त सिट नपाएको भन्दै गठबन्धन छाडेर एमालेतिर मिल्न गएको थियो । यही मौकामा लोसपा सत्ता गठबन्धनमा प्रवेश गरेको थियो । यस्तै, नेसपा भने माओवादी केन्द्रको शरणमा पुगेको छ । तर, निर्वाचनमा सहभागी जसपा र लोसपा अहिले आफ्नो विरासत हराउने हो कि भन्ने जोखिममा छ । नेसपाले त निर्वाचनमा खासै उम्मेदवार उठाएको पनि छैन । स्वयं डा. भट्टराई यसपटक चुनाव नै लडेका छैनन् । उनले छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट उम्मेदवार बनाएका छन् ।
मधेस आन्दोलनका सक्रिय व्यक्तित्व उपेन्द्र यादव अहिले जसपालाई धानिरहेका छन् । तर, पछिल्लो समय मधेसी नेताहरुले ‘खोलो त¥यो, लौरो बिस्र्यो’ भनेजसरी चुनाव जितेपछि मधेसी जनताको एजेन्डा र मुद्दालाई बेवास्ता गर्दै आएका छन्, त्यसको शिकार यादव पनि बनेका छन् । हालै भएको चुनावमा मधेसका पुराना शक्ति पार्टीहरु किनारा लाग्ने देखिएका छन् भने मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिममा रेशन चौधरी नेतृत्वको नागरिक जनमुक्ति पार्टीको उदय हुने निश्चित भइसकेको छ ।
आखिर किन त अस्तित्वको संकटमा नै पुगे त यी दलहरु ? यसको कारण हो, मधेस आन्दोलनले उठाएका मधेसी जनताका समस्यालाई नेताहरुले बिर्सनु । अवसरका लागि जतासुकै गठबन्धन गर्नु । चुनाव जिते पनि जनताको माग सम्बोधन नगर्नु, विकास निर्माणमा सिन्को नै नभाँच्नु । भ्रष्टाचार लिप्त रहनु, पार्टीमा आफन्त र नातेदारलाई मात्र प्राथमिकता दिनु । निर्वाचनको आउँदो परिणामले मधेसवादी दलहरुलाई सुधारको लागि घन्टी बजिसकेको छ । अब मात्र यति हो कि यो आवाजलाई उनीहरुले कति गम्भीरताका साथ सुन्नेछन् । जनधारणा साप्ताहिकबाट
















